बाँकेमा साढे तीन लाख क्यु फिट काठ उत्पादन

सदरलाइन संवाददाता १४ श्रावण २०८०, आईतवार १३:३९
 

नेपालगञ्ज : बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ ।

जिल्लाका विभिन्न सामुदायिक वन र निजी वनमा गरी गत साल तीन लाख ५२ हजार क्यूफुट काठ उत्पादन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिभिजनल वन अधिकृत गणेश खड्काले बताए ।

विभिन्न सामुदायिक वनमा दुई लाख ७७ हजार ६ सय २० दशमलव ९६ क्यु फिट र निजी वनमा ७४ हजार ३ सय ७९ दशमलव ६५ क्यु फिट गरी कुल तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको उनले जानकारी दिए । साल, अस्ना, खयर, धौटी, मसला, सागवनलगायतका विभिन्न जातका काठहरू उत्पादन भएको खड्काले बताए ।

गत साल सरकारद्वारा व्यवस्थित वनको काम बाँकेमा नभएको तर आर्थिक वर्ष २०७८–७९ को ११ हजार ८ सय ८७ दशमलव ९७ क्यु फिट काठ र ३५ चट्टा दाउरा भने मौज्दात रहेको उनले बताए ।

त्यसै गरी गत साल सामुदायिक वनमा सात सय ९९ दशमलव १९ र निजी वनमा नौ सय ५८ दशमलव १७ गरी जम्मा एक हजार ७ सय ५७ दशमलव ३६ चट्टा विभिन्न जातका दाउरा उत्पादन भएको उनले जानकारी दिए ।

काठ उत्पादन धेरै भएपनि विक्री वितरण भने निकै कम मात्रामा भएको वन कार्यालयको तथ्याङ्कमा छ । गत साल सामुदायिक वनमा उत्पादन भएको जम्मा ४८ हजार ५ सय ६६ क्यु फिट काठ विक्री भएको छ । सरकारद्वारा व्यवस्थित वनको मौज्दात रहेकोमध्ये दुई हजार ३ सय ५३ दशमलव ८१ क्यु फिट काठ पनि विक्री भएको वन कार्यालय जनाएको छ ।


त्यसै गरी सामुदायिक वनको एक सय ७३ दशमलव ५० र सरकारद्वारा व्यवस्थित वनको ४ दशमलव ५० गरी जम्मा एक सय ७८ चट्टा दाउरा विक्री भएको वन कार्यालयले जनाएको छ । निजी वनको भने सबै उत्पादित सबै काठ विक्री भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन तथा विक्री वितरण गर्ने प्रक्रिया लामो भएका कारण पनि गत साल उत्पादन भएका धेरै मात्राका काठहरू विक्री हुन नसकेको उनले बताए ।

“निजी तथा आबादी वनको काठ उत्पादन तथा विक्री वितरण प्रक्रिया सरल र सहज भएका कारण तुरुन्तै उपभोक्तासम्म पुग्न सक्छ, तर राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन तथा विक्री वितरण गर्ने प्रक्रिया अलि लामो भएका कारण विक्री वितरण भई छिट्टै उपभोक्तासम्म पुग्न समय लाग्छ ।” खड्काले भने, “कटानमुछान, घाट गद्दी, नाप जाँच, लिलामी प्रक्रिया आदी कारणले गर्दा राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन भएर पनि विक्री वितरणमा केही लामो समय लाग्ने गरेको छ ।”

वन कार्यालयले गतवर्ष काठ र दाउरा विक्री वितरणबाट सरकारको राजस्व खातामा दुई करोड ६९ हजार १ सय ५८ रुपैयाँ जम्मा भएको सूचना अधिकारी खड्काले जानकारी दिए । त्यसै गरी सामुदायिक वन उपभोक्ता समूहहरूले दुई करोड ९० लाख ४९ हजार १ सय ४४ रुपैयाँ आम्दानी गरेको उनले बताए ।

बाँकेमा एक सय १९ वटा सामुदायिक वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा नागरिकताभन्दा राहदानी बनाउनेहरु धेरै

१४ श्रावण २०८०, आईतवार १३:३९
नेपालगञ्ज : बाँकेमा नारिकताको प्रमाणपत्र बनाउनेभन्दा राहदानी बनाउनेको सङ्ख्या धेरै पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार गत आर्थिक बर्ष २०७९–८० मा १२ हजार ८६ जनाले राहदानी बनाएका छन् । यसरी राहदानी बनाउनेमा तीन हजार ४३१ जनाले द्रुत सेवा सिफारिसमार्फत र आठ हजार […]

सम्बन्धित