
नेपालगञ्ज : उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदब, नेपालगञ्जद्वारा आयोजित ६०२औं श्रृङखलाको तरही मुशायरा गोष्ठी शनिबार नेपालगञ्जको महेन्द्र पुस्तकालयमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनीत वरिष्ठ गजलकार खगेन्द्र गिरी ‘कोपिला’ र साहित्यकार तथा शिक्षाविद् किरण आचार्यलाई सम्मान गरिएको छ ।
संस्थाका संस्थापक तथा संरक्षक वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ सदस्यद्वय खगेन्द्र गिरी ‘कोपिला’ र किरण आचार्य विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा ‘ये वह चराग है जो आँधियों पे भारी है’ भन्ने मिसरा–ए–तरहमा आधारित रहेर सहभागी शायरहरूले आफ्ना गजल प्रस्तुत गरेका थिए । मुशायरामा प्रस्तुत गजलहरूले प्रेम, संवेदना, सामाजिक यथार्थ तथा मानवीय अनुभूतिका विविध पक्षलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।
कार्यक्रममा बाँके र बर्दियालाई कार्यक्षेत्र बनाएर नेपाली गजल साहित्यमा योगदान पुर्याउँदै आएका वरिष्ठ गजलकार खगेन्द्र गिरी ‘कोपिला’ तथा नेपाली साहित्य र शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएकी साहित्यकार तथा शिक्षाविद् किरण आचार्यलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सदस्यमा मनोनीत हुनुभएकोमा खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
सम्मानपछि मन्तव्य व्यक्त गर्दै प्राज्ञ सदस्य ‘कोपिला’ले गुल्जार–ए–अदबले लामो समयदेखि निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गरे । उनले संस्थाका शायर तथा साहित्यप्रेमीहरूलाई बधाई दिँदै यस्ता कार्यक्रमले उर्दू भाषा, साहित्य र शायरीको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
त्यसैगरी, प्राज्ञ सदस्य किरण आचार्यले भाषा कुनै एक व्यक्ति वा समुदायको मात्र नभई सम्पूर्ण मानव समुदायको साझा सम्पत्ति भएको धारणा राखिन । उनले उर्दू भाषा तथा साहित्यको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् मुशायरा आयोजना गर्ने जानकारी गराईन ।
मुशायरामा संस्थाका संस्थापक अब्दुल लतीफ शौकु, अध्यक्ष मुस्तफा अहसन कुरैशी ‘अहसन’, डा. जैनुल आबिदीन, अन्सर नेपाली, मौलाना सब्बीर हुसैन, मेराज अहमद ‘हिमालय’, मोहम्मद आरिफ अन्सारी (महासचिव), जियाउल हक हल्वाई लगायत शायरहरूले आफ्ना गजल वाचन गरेका थिए ।
गुल्जार–ए–अदबले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित रूपमा तरही मुशायरा आयोजना गर्दै आएको छ । संस्थाको यो निरन्तर प्रयासले नेपालगञ्जमा उर्दू भाषा, साहित्य र शायरीको विकास तथा साहित्यिक वातावरणलाई थप सशक्त बनाउन योगदान पुर्याउँदै आएको छ । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्