Sadarline
२०८३ असोज २६ , सोमबार

बैंक खाताको केवाइसी अपडेटको बहानामा ५० लाख ठगीगर्ने भारतीय नागरिकसहित ३ जना पक्राउ



रौतहट : बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै केवाइसी अपडेट गर्ने बहानामा करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीनजना प्रहरीको नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गौर रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका भारतको बिहारस्थित सीतामढीका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहालाई सार्वजनिक गरेको हो ।

प्रहरी उपरिक्षक सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका–३ पोखरिया टोल र वडा नम्बर ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो । घटनाबारे हालसम्म २२ वटा उजुरी परेको र प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३ सय ३३ रुपैयाँ ठगी भएको खुलेको प्रहरीले जनाएको छ ।

आरोपितहरूले आफुलाई बैंक वा ई–सेवाको कर्मचारी भएको भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरी केवाइसी अपडेट गर्नुपर्ने बताउने गरेका थिए । त्यसपछि भिडियो कलमार्फत मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्न लगाएर बैंकिङ विवरण प्राप्त गरी बैंक खाता तथा डिजिटल वालेटबाट रकम स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्समार्फत स्थानान्तरण तथा क्रिप्टोकरेन्सीमा लगानी गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीले १ लाख ६२ हजार २ सय १० नेपाली रुपैयाँ, ३ हजार २ सय ३६ भारतीय रुपैयाँ, सात थान मोबाइल, ११ थान सिमकार्ड, ३० थान बैंक भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ, दुई थान मेमोरी कार्ड तथा ठगीसम्बन्धी विवरण लेखिएका डायरी र कागजात बरामद गरेको छ ।

पक्राउ परेकामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । घटनाका मुख्य योजनाकारसहित अन्य संलग्न व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अपरिचित व्यक्तिसँग मोबाइलको स्क्रिन शेयर नगर्न तथा ओटीपी, पिन, पासवर्ड र बैंकिङ विवरण नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
ताजा समाचार