सदरलाइनडटकम,
कञ्चनपुर : प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले विजयी शुरुवात गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा बुधवारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश विजयी भएको हो ।
टस जितेर ब्याटिङ रोजेको गण्डकीले २० ओभरमा सबै विकेट गुमाएर ५८ रन बनाएको थियो । गण्डकीकी शिला रेग्मीले १९ र सुशीला गुरुङले १७ रन बनाएकी हुन् । यस्तै सुदूरपश्चिमका तर्फबाट कविता कुँवर, लक्ष्मी साउद र जानकी भट्टले समान दुई–दुई विकेट तथा कविता जोशीले एक विकेट लिइन् ।
जवाफमा सुदूरपश्चिमले एक विकेट गुमाएर ७ ओभरमै लक्ष्य भेटाएको थियो । सुदूरपश्चिमका तर्फबाट कविता कुँवरले २१ तथा कविता जोशी र रेवती धामीले समान १२ रन बनाए । गण्डकीका तर्फबाट मनिषा उपाध्यायले एक विकेट लिएकी थिइन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण महेन्द्रनगरमा शुरु भएको हो ।
प्रतियोगितामा एउटा विभागीय टोली एपीएफसहित सात प्रदेश गरी आठ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख नगद तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।