समाचार सारांश
- स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप–२०८३ खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा हुने भएको छ।
- फ्लोरिड एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा बाँकेका १५ डोजाङका करिब ३२५ खेलाडीले केरोगी र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगिताले तेक्वान्दो खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा बालबालिका र युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्य राखेको छ।

नेपालगञ्ज : स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप–२०८३ खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ ।
फ्लोरिड एकेडेमी डुडुवा–५, बाँकेको आयोजना, सेटप–अप तेक्वान्दो डोजाङको सहयोग तथा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित ‘द फार्म’ मा यही असोज १० र ११ गते दुई दिन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्लाभरिका १५ वटा डोजाङका करिब ३२५ भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ । खेलाडीहरूले केरोगी र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी तथा डोजाङलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताले बाँकेमा तेक्वान्दो खेलको विकाससँगै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका संयोजक तथा फ्लोरिड एकेडेमीका प्रिन्सिपल एवं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर प्रेम पुनले स्वर्गीय केशव श्रेष्ठको योगदानको स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बताए । “केशव श्रेष्ठज्यूले तेक्वान्दो खेलको विकासमा पु¥याउनुभएको योगदानलाई सम्मान गर्दै उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेका हौँ,” संयोजक पुनले भने ।
उनले प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई बाँकेमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभाको पहिचान गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताए । “खेलकुदले स्वस्थ जीवनशैलीसँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको जिम्मेवारीको भावना विकास गर्छ। त्यसैले बालबालिका तथा युवालाई खेलकुदमा जोड्न यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्,” पुनले जोड दिए ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा सम्बन्धित डोजाङ, प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।


