समाचार सारांश
- नेपालगञ्ज म्याराथनले नर्वेको ट्रम्सोमा आयोजित एम्स वल्र्ड कंग्रेसमा प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्राप्त गर्दै अन्तर्राष्ट्रिय सम्मान हासिल गरेको छ।
- जलवायु परिवर्तन सचेतना, कोभिडकालमा ओलम्पिक छनोट प्रतियोगिता सञ्चालन तथा दौड संस्कृतिको प्रवर्द्धनमा गरेको योगदानका आधारमा नेपालगञ्ज म्याराथन छनोट भएको हो।
- संस्थापक टीएस ठकुरीले यो सम्मान नेपालगञ्ज म्याराथन मात्र नभई सम्पूर्ण नेपालको उपलब्धि भएको बताएका छन्।

नेपालगञ्ज : नर्वेमा नेपालगञ्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’२०२६ प्रदान गरिएको छ । वल्र्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)ले नेपालको नेपालगञ्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड २०२६‘ प्रदान गरेको हो ।
नर्वेको ट्रम्सोमा जारी एम्सको २५औं वल्र्ड कंग्रेसमा शुक्रवार राति एक बिशेष समारोहमा अवार्ड प्रदान गरिएको हो । एम्स अध्यक्ष पाको बोराओले नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई उक्त अवार्ड प्रदान गरेका हुन ।
संसारभरका रेस आयोजकमध्येबाट एक आयोजकलाई छनौट गरिने ‘एम्स सोसल अवार्ड’ वल्र्ड रनिङको निकै प्रतिष्ठित अवार्ड हो । एम्समा विश्वभरबाट झण्डै पाँच सय बढी रेस आयोजक सदस्य छन् ।
यतिबेला अधिकांस सदस्य नर्वेको ट्रम्सोमा भेला भएका छन् । बर्लिन म्याराथनका संस्थापक एवं एम्सका सहसंस्थापक ९० बर्षिय हस्र्ट मिल्डे समेत कंग्रेसमा सहभागी छन् ।

प्रतिष्ठित म्याराथन आयोजकहरुका माझ एम्स सोसल अवार्ड प्राप्त गर्न पाउँदा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले निकै खुशी व्यक्त गरे । ‘अनपेक्षित उपलब्धि हासिल गरेको अनुभुति भएको छ, अब नेपालमा म्याराथन आयोजनाको फैलावट र गरिमा अझ बढ्ने अपेक्षा छ । ’ संस्थापक ठकुरीले भनेर्—यो नेपालगञ्ज म्याराथनले मात्र हैन, सिंगो देशले पाएको सम्मान हो, किनकी यो एम्सको एकमात्र अवार्ड हो ।’
नेपालगञ्ज म्याराथनको निरन्तरता, विभिन्न अवधारणाका दौड सन्चालन, विश्वव्यापी समस्याका रुपमा देखिएका जलवायु परिवर्तन सम्बन्धि जागरण अभियान, कोभिड कालमा विश्व ठप्प भएका बेला समेत टोकियो ओलम्पिकका लागि छनोट प्रतियोगिता गराइ राज्यलाई सघाएको, रनिङ म्यागजिन निरन्तर प्रकाशन गरिरहेको जस्ता बिषयमा मुल्यांकन गर्दै एम्सले संसारभरबाट नेपालगञ्ज म्याराथन छानिन सफल भएको संस्थापक ठकुरीको बुझाइ छ ।

नेपालगञ्ज म्याराथन २०१५ देखि अभिछिन्न रुपमा सन्चालन हुँदै आएको दौड हो । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडी छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो ।
एघार बर्षे सशत्र द्वन्द्व विधिवत अन्त्य गर्ने विस्तृत शान्ति सम्झौता गरिएको ५ मंसिर २०६३ को स्मरणमा २०७२ सालदेखि नेपालगञ्जले म्याराथन यात्रा सुरु गरेको हो ।
नेपालगञ्ज म्याराथनसँग अहिले करिब एक दर्जन भगिनी इभेन्ट सन्चालनमा छन् । स्कुले बालबालिकालाई जलवायु परिवर्तनले निम्त्याएको समस्याबारे सचेतना र अनुकूलनतर्फ प्रेरित गर्नेगरी गौघाट ग्रीन रन र राप्तीसोनारी नेचर रन दुई बर्षदेखि निरन्तर सन्चालन गर्दै आएको छ ।
रात्रीकालीन समयमा समेत सुरक्षित अनुभुति दिलाउन नेपालगञ्ज १० के नाइट रनका दुई संस्करण आयोजना भइसकेका छन् । त्यसैगरी विश्वसामु नेपाली सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्यले गत बर्षदेखि काठमाडौं२५किमी हेरिटेज रेस सुरु गरेको छ । साथै कर्णाली प्रदेशमा समेत कर्णाली हाफ म्याराथन सुरु गरेको छ ।
त्यस्तै, लोकतन्त्रमा संवाद बहसलाई अपरिहार्य महसुस गरेर नेपालगन्ज डिस्कोर्सको शृंखला नेपालगञ्ज कनक्लेवका ६ संस्करण संचालन भइसकेका छन् । गत वर्ष एम्सको बोर्ड बैठकसहित नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्ससमेत आयोजना गरिएको थियो । जहाँ १८ देशका प्रतिनिधि सहभागी थिए ।
यसबर्षदेखि वन ग्लोबल माइल अन्तर्गत नेपालमा कोहलपुर माइल र काठमाडौं माइल समेत सुरु गरिँदै छ । यसका साथै नेपाल रनिङ म्यागजिनसमेत निरन्तर प्रकाशन हुँदै आएको छ ।


