समाचार सारांश
- कोहलपुर गोल्डकपको सेमिफाइनलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया भिसा समस्याका कारण बाहिरिएको छ ।
- जिल्ला प्रशासन कार्यालय बाँकेले अध्यागमन कानुन पूरा नगरी विदेशी खेलाडीलाई खेलाउन रोक लगाएको थियो ।
- अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा जारी कोहलपुर गोल्डकपको सेमिफाइनलबाट जस्ट जोन फुटबल क्लब नाइजेरिया बाहिरिएको छ ।
खेलाडीहरूको भिसासम्बन्धी समस्या देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले अध्यागमन कानुनअनुसार प्रक्रिया पूरा नगरी विदेशी खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको थियो ।

यसअघि नेपाल पुलिस क्लबसँग सेमिफाइनल खेल्ने तालिका रहेको नाइजेरियाको स्थानमा अब रोयल फुटबल क्लब कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्ने भएको छ । विजेता टोली फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लबसँग भिड्ने छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल पुगिसकेको छ । प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


