समृद्धि र विकासको जगमा आगामी बर्षको बजेट निर्माण गर्छाैं : मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १९ जेष्ठ २०८२, सोमबार १४:५६
 

नेपालगन्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर सरकारले ल्याएको नीति तथा कार्यक्रमको जगमा उभिएर बजेट निर्माण गरिने स्पष्ट पारेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमवार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलता सम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताए ।

 

‘सरकारले धेरै मेहनत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । त्यसको जगमा नै उभिएर बजेट ल्याउछौं । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेको छ भन्ने विश्वास लिएको छु,’–मुख्यमन्त्री आचार्यले भने, ‘नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एक अर्कालाई जोड्नेगरी काम अघि बढेका छन् । नीति तथा कार्यक्रमले बोलेको कुरालाई बजेटले सम्बोधन गर्नै पर्छ । सरकार गम्भीर भएर यसमा लागेको छ ।’

 

मुख्यमन्त्री आचार्यले प्रदेशलाई सार्वभौम र अधिकारसम्पन्न बनाउने गरी संघीय तहमा सुझाव दिन आवश्यक रहेको धारणा राखे । यातायात क्षेत्र प्रदेशको एकल सुचिमा परेपनि ट्राफिक जरिवानाको राजस्व प्रदेशमा दाखिला नहुने जस्ता व्यवहारिक समस्याको समाधानका लागि वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिए ।

 


‘प्रदेशको आन्तरिक स्रोतको ठूलो हिस्सा वन हो । संघीय कानुनका कारण प्रदेशले खुलेर काम गर्न सकेको छैन । संघीय कानुन संशोधनका लागि पटक–पटक पहल गरेका छौँ,’– मुख्यमन्त्री आचार्यले भने, ‘अहिले राजस्व संकलनमा सुधार भएको छ । डेढ अर्ब राजस्व वृद्धी भएको छ । अपेक्षा अनुसार वनबाट राजस्व संकलन हुन नसक्दा सरकारले चाहेका कामहरूलाई अघि बढाउन समस्या पर्दाे रहेछ ।’

 

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्रोत वृद्धिका लागि ध्यान दिइने बताए ।

 

सो अवसरमा पूर्व अर्थ सचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय उर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताए । पूर्व सचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बताए ।

 

दायित्व अभियानका अध्यक्ष डाक्टर पुकार मल्लले उद्यम–केन्द्रित रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा राखे । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासो र सरोकारका बिषयहरूमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाइ चरणबद्ध रुपमा निरन्तरता दिइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल

१९ जेष्ठ २०८२, सोमबार १४:५६
नेपालगन्ज : प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रमुख तीन दलका शीर्ष नेता केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार अपरान्ह छलफल हुन लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा तीन शीर्ष नेताबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको […]