नौबस्ता औद्योगिक क्षेत्र निर्माण नहुँदै अतिक्रमणको चपेटामा

सदरलाइन संवाददाता ३ मंसिर २०८०, आईतवार १२:५९
 

नेपालगञ्ज : बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण शुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ । जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको निर्माण नहुँदै अतिक्रमणको चपेटामा परेका हुन् ।

सरकारले निर्माण गर्ने घोषणा गरे पनि नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित औद्योगिक ग्रामको न संरक्षण हुन सकेको छ, न त निर्माण नै अगाडि बढ्न सकेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले केही राजनीतिक दलले प्रोपोगाण्डाका रुपमा झण्डा गाडेर औद्योगिक ग्रामको जग्गा कब्जा गरेको प्रचारबाजी गरे पनि त्यो सम्भव नभएको बताए ।

उनले गाउँपालिकाले त्यहाँ निर्माण गरेर तत्काल केही उद्योग सञ्चालन गर्ने योजना बनाएको जानकारी दिए । स्थानीयले भने जतिसक्दो चाँडो सरकारले औद्योगिक क्षेत्र निर्माण गर्नुपर्ने माग गर्दै आएका छन् । खजुरा गाउँपालिका वडा नम्बर ६ का स्थानीय समिर बेहनाले सरकारले तत्काल काम थाल्नुपर्ने बताए ।


कब्जा गर्ने नियत अझै देखिएको भन्दै उनले काम अघि बढाउन आग्रह गरे । २०७६ असोजमा खजुराको वडा नम्बर ६ मा २१ बिगाह जमिनमा औद्योगिक ग्राम बनाउने निर्णय सरकारले गरेको थियो । राजनीतिक आडमा निर्माण गरिएका करिब ५०० छाप्रा सुरक्षाकर्मीले भत्काएका थिए । तर, अतिक्रमण अझै पनि रोकिएको छैन । नौवस्ता औद्योगिक क्षेत्रको जग्गा पनि अतिक्रमणमुक्त हुन सकेको छैन । १११ वटा उद्योग सञ्चालन गर्ने गरी बैजनाथ गाउँपालिकाको नौवस्तामा ३६५ विगाह क्षेत्रफलमा ८ अर्ब ७ करोड रुपैयाँको लागतमा औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ ।

तर, काम अगाडि बढाउन खोज्दा निरन्तर अवरोध भइरहेको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख प्रकाश केसीले निर्माण शुरु गर्ने प्रक्रियाका लागि फिल्डमा खटिने कर्मचारीलाई स्थानीयले पटकपटक अवरोध गरिरहेको बताए । उनले रिपोर्टिङ गर्न गएका, डेटा कलेक्सन गर्न गएका कर्मचारीलाई अतिक्रमण गरेकाले काम गर्न नदिँदा निर्माण अगाडि बढ्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कार्तिक पुर्णिमाका दिन बाँकेमा लाग्ने मेलाको तयारी तीब्र

३ मंसिर २०८०, आईतवार १२:५९
नेपालगञ्ज : बाँकेको जानकी र राप्ती सोनारी गाउँपालिकाको ग्रामीण क्षेत्रमा लाग्ने ऐतिहासिक मेलाको तयारी शुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका–२ जोगागाउँ र वडा नं ५ गुरुवा गाउँमा प्रत्येक वर्ष विशेष मेला लाग्छ । यस वर्ष यही मङ्सिर ११ देखि १३ गतेसम्म तीन दिन मेला सञ्चालन हुने […]