नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ मा निर्माणाधीन जेष्ठ नागरिक मिलन केन्द्रका लागि जनस्तरबाट सहयोग उठ्न थालेको छ । करिब डेढ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवनका लागि जनस्तरबाट सहयोग संकलन हुने क्रम बढेको छ ।
मंगलबार थप दुई लाख बढी सहयोग संकलन भएको छ । १२ नम्बर वडाका स्थानीय गणेशराज पोखरेलले १ लाख १ हजार, सिटिजन बैंक नेपालगञ्जले १ लाख १ हजार र शिवराज बर्माले ११ हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष तरुणकुमार बज्राचार्यले बताए ।
भवन निर्माणका लागि सार्वजनिकरुपमा सहयोगको आह्वान गरिएको जेष्ठ नागरिक क्लबका अध्यक्ष अजितकुमार शर्माले बताए । भवन निर्माणका लागि नै यसअघि निवर्तमान प्रदेश सांसद सुरेन्द्र हमालको २०७९÷२०८० को संसदीय कोषबाट २० लाख रकम प्राप्त भएको छ ।
त्यस्तै वडाका समाजसेवी गोपाल मल्ल ठकुरीले ५ लाख, रमेशकुमार श्रेष्ठले १ लाख १ हजार, प्रमोद जलानले ५१ हजार, कन्हैयालाल बैद्यले ३५ हजार, बिक्रम शाहले २१ हजार, राघव शाहले १५ हजार र राजेन्द्र केसीले ११ हजार सहयोग रकम प्रदान गरिसकेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १२ को योजना अनुसार एक कट्ठा जग्गामा निर्माण हुन लागेको भवन जेष्ठ नागरिकहरुका लागि सुबिधा सम्पन्न बनाइनेछ । १ करोड ४७ लाख लागत इस्टिमेट तयार भएको सो संरचनाका लागि वडा नम्बर १२ ले आगामी आर्थिक बर्षमा १० लाख छुट्याएको वडा अध्यक्ष बज्राचायले जानकारी दिए ।
६० वर्षमाथिका जेष्ठ नागरिकहरुका लागि बहुउपयोगी भवनका रुपमा भवनको प्रयोग गरिने बताइएको छ । संरचना निर्माण सम्पन्नपछि धार्मिक कार्य, योगा अभ्यास, सचेतनामूलक कार्यक्रम, सिक्ने सिकाउने कार्यक्रम गर्न सकिनेछ । जसका लागि भवनमा योगा हल, कार्यक्रम हल, बैठक हल, अध्यक्ष कोठा, आराम कक्ष लगायत उपयोगका लागि कोठाहरु समेत हुने वडा अध्यक्ष बज्राचायले बताए ।