नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मदनापुरका स्थानीय महिला बचत समूहले पालेका बाख्रामा पिपिआर रोगका कारण दुईवटा बोका मरेका छन् ।
केहीदिन अघि स्थानीय सरिता चौधरीले पालेका २ वटा बोका पिपिआर रोगका कारण मरेको पीडित सरिताले जानकारी दिईन । उनले डुडुवा महिला बचत समूहमा आबद्ध रहेर नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट अनुदानमा पाएको बाख्रामा पनि पिपिआर रोग फैलिएको बताईन ।
उनले करिव एक महिना अघि पिपिआरको खोप लगाएको भएपनि आफ्ना बाख्रामा एक्कासी रोग फैलिएर उपचारकै क्रममा दुई बोका मरेको दुखेसो गर्दै भनिन –‘ आफुले पालेका पशुको विमा गर्न पनि सकिएको छैन छिमेकी पालिकाले पशुको उपचार बिमा सित्तैमा गरिदिएको छ । मेरो दुई बोका पिपिआर रोगलागेर एकै दिन मरे बिमा गरेको भए केहिमात्र क्षतिपूर्ती पाउने थिए । बर्षभरीको मेहनत एकै दिनमा सकियो ।’
सरिताकै छिमेकी समेत रहनु भएकी ईश्वरी घर्तीमगरले उपमहानगरबाट आफुहरु जस्ता पशुपालक किसानको लागि कुनै पनि कार्यक्रम नभएको पशु विरामी भयो भनेर जानकारी गराउदा पनि समयमा पशु प्राविधिक पशुको अवस्था बुझ्न नआउने गरेको र अफुहरुले पालेका पशुको बिमा पनि हुन नसकेको दुखेसो गरिन ।
सो वडामा डुडुवा महिला बचत समूह मार्फत २० जना महिलालाई नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले १५ हजारका दरले बाख्रा पालनका लागि अनुदान समेत दिएको छ ।
यसैबीच नेपालगञ्ज उपमहानगरको पशुशाखाका प्राविधिक अचुत गौतमले पालिकामा रहेका सबै खाब्रामा पिपिआर भ्यासिन लगाईएको जानकारी दिदै पिपिआरका कारण बोका मरेको जानकारी शाखामा नआएको बताए ।
खुला सिमानाका कारण भारतबाट अटोमा बाख्रा र बोका साट्नको लागि गाउगाउसम्म पुग्नेहरुको माध्यामबाट आफ्ना बाख्रामा पिपिआर रोग सरेको भन्दै उनीहरुले यसता व्यवसायीलाई रोक्ने र आफुना पशुको बिमा गर्ने अभियान नै सञ्चालन गर्नु पर्ने उनीहरुको माग छ ।