समाचार सारांश
- भारतबाट आयात हुने तरकारीमा भन्सार कडाइ भएपछि बाँकेका किसानले खेतबारीमै उत्पादनको राम्रो मूल्य पाउन थालेका छन्।
- बजार सुनिश्चित भएपछि खजुरा, हिरमिनिया, भवानीयापुर, परसपुर, बसुदेवपुर, पुरैनीलगायत क्षेत्रमा व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ।
- बाँकेमा ६ हजार ३ सय ५२ हेक्टरमा वार्षिक १३ हजार मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुँदै आएको छ।

नेपालगञ्ज : बाँकेका किसानले उत्पादन गरेको सागसब्जी खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेको छ । भारतबाट आयात हुने तथा अनाधिकृत भित्र्याईने सागसब्जी भन्सारमा कडाइ गरिएपछि किसानको उपजले मुल्य पाउन थालेको हो ।
मूल्य राम्रो पाउन थालेपछि बाँकेको खजुरा क्षेत्र, डुडुवा गाउँपालिका–६ हिरमिनिया, नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुर, १७ परसपुर, १९ बसुदेवपुर, २१ पुरैनी र २२ पुरैनाका विभिन्न गाउँमा किसानले व्यावसायिक तरकारी खेती बढाउँदै गएका छन् ।
गाउँका धेरै किसानले अहिले सागसब्जी खेती गर्न थालेको जानकी–३ का रसिद बागवानले बताए । ‘पहिले सागसब्जी बिक्री गर्न टाढाटाढा पुग्नुपथ्र्यो, अहिले खेतबारीबाटै राम्रो मूल्यमा बिक्री हुन थालेपछि गाउँमा सागसब्जी खेती गर्ने किसान बढ्दै गएका छन्’–उनले भने ।
भारतबाट आउने सागसब्जीको भन्सारमा कडाइ गरिएपछि बाँकेका किसानले उत्पादन गरेको कृषि सामग्रीले बजार पाएको नेपालगञ्जको रानीतलाउ कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताईन ।
उनका अनुसार नेपालगञ्जको रानीतलाउ बजारमा अहिले अधिकांश बाँकेमै उत्पादन भएको सागसब्जी आउने गरेको छ । भारतबाट बिक्रीका लागि ल्याइने सागसब्जी भन्सार गर्नुपर्ने प्रावधानका कारण स्वदेशी कृषि उपजले बजार पाएको हो । भारतबाट भन्सार तिरेर कृषि उपज ल्याउँदा महँगो पर्ने भएकाले व्यवसायीले आयात घटाएका छन् ।
भारतबाट आयात हुने सस्तो सागसब्जीसँग प्रतिस्पर्धा गर्न नसकेका स्थानीय किसानले अहिले उत्पादनको राम्रो मूल्य पाउन थालेको नेपालगञ्जस्थित रानी तलाउ थोक तरकारी मण्डीका थोक व्यवसायी मोहियुद्दिन राईले बताए ।
पछिल्लो समयमा बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका हुन् । विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा सागसब्जी खेती गर्न अग्रसर भएको कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले जानकारी दिईन ।
बाँकेमा छ हजार ३ सय ५२ हेक्टर जमिनमा वार्षिक १३ हजार भन्दा बढी मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रमअन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे सागसब्जी बालीका बीउ वितरण गरेको छ ।
पछिल्लो समय नगदे बालीका रूपमा सागसब्जी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको शर्माले दाबी गरिन । कृषि ज्ञान केन्द्रका अनुसार यतिबेला नेपालगञ्जको बजार बाँकेका किसानले व्यावसायिक रूपमा उत्पादन गरेका फूलगोभी, बन्दागोभी, लौका, फर्सी, काँक्रा, बोडी, गोलभेडा, खुर्सानीलगायत कृषि उपजले धानेको छ ।


