धान खरिदको लक्ष्य अधुरै, बाँकेमा नौ हजार क्विन्टल मात्रै खरिद

सदरलाइन संवाददाता २३ फाल्गुन २०७९, मंगलवार १३:१८
 

नेपालगञ्ज : बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित खाद्य व्यवस्था कम्पनी लिमिटेड कार्यालयले खरिद शुरु गरेकामा नौ हजार क्विन्टल मात्र धान खरिद भएको छ ।

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुनको पहिलो साताबाट धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए ।

उनले यस वर्ष जिल्लाका ८४० जना किसानबाट मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल गरेर २५ हजार क्विन्टल खरिद गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा धेरै कम नौ हजार क्विन्टल मात्र धान खरिद भएको बताए ।

३४० जना किसानबाट मध्यम धान सात हजार क्विन्टल र मोटो धान दुई हजार क्विन्टल गरेर नौ हजार क्विन्टल धान खरिद गरिएको हो । जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर गत पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद शुरु गरिएको थियो ।


तर निर्धारित समयभन्दा निकै ढिला गरी धान खरिद सुरु गरेकाले अधिकांश किसानले बाध्य भएर पहिले नै व्यापारीलाई बिक्री गरिसकेकाले नै कम्पनीमा नगएको बाँके खजुरा–४ का किसान जयन्त थापाले बताए ।

कार्यालयले ढिला गरी खरिद सुरु गरेको र पछिल्लो समय व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेकाले किसानले कम्पनीलाई धान बिक्री नगरेको बताए । सरकारले यस वर्ष मोटा धानको प्रतिक्विन्टल समर्थन मूल्य दुई हजार ९६७ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार १२८ रुपियाँ तोकेको थियो ।

बाँकेका आठवटा पालिकामध्ये जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटा अनुसार धान बिक्री गरेको र अन्य छवटा पालिकाबाट निकै कम सङ्ख्यामा किसान धान बिक्री गर्न आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वेष्टर्न अस्पतालमा अत्याधुनिक सघन उपचारकक्ष सञ्चालन

२३ फाल्गुन २०७९, मंगलवार १३:१८
नेपालगञ्ज : नेपालगञ्जमा सिकिस्त बिरामीलाई उपचारका लागि काठमाण्डौ वा भारतको लखनउ पुर्याउनुपर्ने बाध्यता हट्दै गएको छ । सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभावकारी बनाउन नेपालगञ्जस्थित वेष्टर्न अस्पतालले अत्याधुनिक सुविधासहित आठ शय्याको सघन उपचारकक्ष (आईसीयु) सेवा शुरु गरेपछि अब सिकिस्त बिरामीको उपचार पनि नेपालगञ्जमै सम्भव भएको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल […]