नेपालगञ्ज नाकाबाट व्यापार घाटा नौ अर्बभन्दा कम

सदरलाइन संवाददाता २२ माघ २०७९, आईतवार १५:२४
 

नेपालगञ्ज : पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गत वर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्बभन्दा बढी कम भएको छ ।

चालु आर्थिक वर्ष २०७९–०८० को गत ६ महिनाको अवधिमा करिब साढे ३१ अर्ब व्यापार घाटा भए पनि गतवर्षको सोही अवधिको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड कम घाटा भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माका अनुसार जमुनाह नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा चालु आर्थिक वर्षको गत ६ महिनामा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपैयाँ घाटा भएको छ ।

तर पनि सो घाटा गतवर्ष सोही अवधिमा भएको व्यापार घाटाभन्दा नौ अर्ब २९ करोड ६८ लाख ७२ हजार रुपैयाँ कम भएको अधिकृत शर्माले बताए । उनका अनुसार गतवर्ष सोही अवधिमा नेपालगञ्ज नाकाबाट ४० अर्ब ८६ करोड ९८ लाख ९५ हजार रुपियाँ व्यापार घाटा भएको थियो ।


निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा धेरै भएको भन्सार अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार निकासी ज्यादै न्यून भए पनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्यून हुँदा व्यापार घाटा उच्च भएको हो ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएकोमा ९९ करोड ६३ लाख १० हजार रुपैयाँको मात्र वस्तु निर्यात भएको छ । यसरी ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपैयाँ व्यापार घाटा भएको छ ।
निर्यातको तुलनामा उच्चदरमा आयात बढ्दा यो नाकाबाट मात्र करिब ९७ प्रतिशत व्यापार घाटा भएको हो । नेपालगञ्ज नाकाबाट आयातको तुलनामा निर्यात करिब ३ प्रतिशत मात्रै हुने गरेको छ । भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा सो नाकाबाट ४१ अर्ब ८४ करोड १ लाख ९९ हजारको वस्तु आयात भएकोमा ९७ करोड ३ लाख ४ हजारको सामग्री निर्यात भएको थियो ।

चालु आर्थिक वर्षमा चिनी, गहुँ जस्ता वस्तुमा कोटा सिस्टम लागु गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नु लगायत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार अधिकृत शर्माको भनाइ छ । जमुनाहा नाकाबाट पेट्रोलियम पदार्थ, शुद्ध फलाम, भटमासको पिना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्याँस, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ ।

पछिल्लो छ महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाकाबाट गतवर्षको सोही अवधिको तुलनामा करिब ५२ प्रतिशत चामल आयात घटेको छ भने चिनी ५६.४४ प्रतिशत र आलु २७.९९ प्रतिशत घटेको छ । ६ महिनाको अवधिमा नेपालगञ्ज नाका हुँदै प्लाइउड, जडीबुटी, खोटो रोजिन, तारपिनको तेल, रिट्ठा, अदुवा, सुठो, दालचिनी, मसला, वनस्पति उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस चौतारीको स्थापना दिवसमा बाँकेमा दुई पत्रकार सम्मानित

२२ माघ २०७९, आईतवार १५:२४
नेपालगञ्ज : प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा बाँकेमा दुई जना पत्रकारलाई सम्मान गरिएको छ । प्रेस चौतारी, बाँकेले पत्रकार कृष्ण अधिकारी र धना केसीलाई सम्मान गरेको हो । अधिकारीलाई रेशम विरही सिर्जनशील पत्रकारिता र केसीलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । पत्रकारद्वयलाई एमालेका केन्द्रीय सदस्य मो. […]

सम्बन्धित