कैलाली : डल्फिन जलचर तथा जैविक विविधता संरक्षण कैलालीले गरेको गणनाले विगतको तुलनामा डल्फिनको संख्यामा वृद्धि भएको पाईएको छ । संस्थाका अनुसार यसवर्ष १५ वटा बच्चा सहित ७० डल्फिन गणना गरिएको हो ।
संस्थाका अध्यक्ष भोजराज ढुंगानाले १३ वटा स्थानमा ३५ जनाले एकसाथ डल्फिन गणना गरेको जानकारी दिए । संस्थाले भदौ १८ र १९ गते गणना गरेको थियो । उनका अनुसार सबैभन्दा धेरै डल्फिन मोहना–पथरैया दोभान, काँडा–पथरैया दोभान, पथरैया–गैरीनाला दोभानमा देखिएका छन । एकै पटक १५ वटासम्म डल्फिन देखिएको ढुंगानाले बताए ।
उनले यसअघि २०७३ र २०७५ मा समेत डल्फिनको आधिकारिक गणना भएको र २०७३ मा ६५ वटाको गणना भएकोमा २०७५ मा ५५ मात्रै गणना भएको जानकारी दिए ।
मान्छे पछिको चेतनशील प्राणीका रुपमा मानिएको डल्फिन वर्षायाममा बच्चा हुर्काउन कैलालीको दक्षिणी क्षेत्रमा आउने गर्छ । डल्फिन गणनामा नेपाल जैविक विविधता समाजले प्राविधिक सहयोग गरेको थियो ।
यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ । यो माशांहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकै पटक दुई वटासम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ ।