सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेमा पाक्ने बेलाको धानबालीमा फैजिकिराको प्रकोप नियन्त्रण बाहिर हुँदा सयौ मेट्रिक धान उत्पादनमा ह्रास आउने भएको छ । गत असोज १९ गतेदेखि एक्कासी प्रकोपको रुपमा देखापरेको फैजिकिराले पाकेर भित्र्याउन तयारी रहेको धानको बाला काटेर नोक्सान पार्नुको साथै काटेर राखेको धानमा समेत नोक्सानी पुराएको हो ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बाँकेमा फैजिकिराको प्रकोप नियन्त्रण बाहिर रहेको जानकारी दिए । उनले प्रायजसो खेतहरु सुख्खा भएको र विषाधिको प्रयोग गर्दा पनि खासैैैै असर नगरेले ५ सय बढी हेक्टरमा लगाईएको २ हजार मेट्रिकटन बढी धान नोक्सानी भएको बताए । उनले प्रभावित क्षेत्रको तथ्याङ्क प्राप्त भई नसकेकोले अझै प्रकोप बढ्न सक्ने बताए ।
बाँके राप्तीसोनारी–६ का मदनसिंह थारुले फौजिकिराले पाकेर भित्र्याउने बेलाको धानको बाला काटेर हेर्दा हेर्दै पराल मात्र राखिदिएको बताए । उनले काटेर राखेको धानको बाला समेत काटेर खेतैभरी बनाई दिएको बताए ।
राप्तीसोनारी–७ का आसिफ अलि मुकेरीले प्रकोपको रुपमा लागेको फौजिकिराले बर्षभरी खाने अनाज नै सखाप पारेको बताए । उनले राज्यले आफुहरु जस्ता किसानको लागि राहतको पहल गरिदिन प्रदेस सांसद नमुनासंग आग्रह समेत गरे ।
यसैबीच पाँच नंम्बर प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले स्थानीय जनप्रतिनिधि ज्ञानु वलीसहित आफ्नो निर्वाचन क्षेत्र अन्तरगतको राप्तीसोनारी गाउपालिका वडा नंं ६ र ७ को फैजिकिरा प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् ।
काट्ने बेलाको धानमा एक्कासी फौजिकिराको प्रकोप देखिएपछि स्थलगत अनुगमनमा गएकी उनले फौजिकिरा प्रभावित किसानको लागि संघ, प्रदेश र स्थानीय सरकारले राहात प्याकेज उपलब्ध गराउन पहल गर्ने बताईन ।
‘पाकेर पहेलै हुने अवस्थाको धानमा ११ दिनमै फैजिकिराको कारण परालमात्र बुटामा रहेको छ । वर्षभरीको किसानको खेतीको अवस्था अत्यन्तै नाजुक भएको पाए’–उनले भनिन–‘राज्यले फैजिकिरा प्रभावित किसानको लागि कुनै न कुनै प्याकेज दिनुपर्छ भन्ने लबिङ्गका साथ पहल गर्ने छु ।’
बाँकेको बैजनाथ, राप्ती सोनारी, डुडुवा, जानकीलगायतका गाउपालिका र नेपालगन्ज उप–महानगरका केही वडामा गरिएको धानखेतीमा फौजिकिराको प्रकोप देखिएको छ ।