सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले गत आर्थिक बर्ष ०७५/७६ मा १४ करोड बढि आन्तरिक आम्दनी गर्न सफल भएको छ । लक्ष्य भन्दा बढि आम्दनी गर्न सफल भएको प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताए । नेपालगञ्जमा लामो समयपछि लक्ष्यअनुसार आम्दानी भएको हो ।
उपमहानगरपालिकाले १४ करोड ११ लाख रुपैयाँ आन्तरिक आम्दनी हुने लक्ष्य राखेकोमा १४ करोड ११ लाख ४९ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको प्याकुरेलले बताए । उपमहानगरपालिकाले सम्पत्ति करबाट चार करोड २० लाख, भाँडा तथा बहालबाट एक करोड १३ लाख, बहाल कर एक करोड ७२ लाख, नक्सा पास दस्तुर दुई करोड ८७ लाख, सिफारिस दस्तुर तथा बक्सौनी एक करोड १७ हजार रुपिया राजश्व संकलन गर्न सफल भएको हो ।
उपमहानगरपालिकामा जनप्रतिनिधीहरु आएपछि राजश्व संकलन बढेको हो । दक्ष जनशक्ति, बाणिज्य सङ्घ, मालपोतलगायतको सहयोग र जनतामा कर तिर्नुपर्छ भन्ने भावना विकास भएपछि लक्ष्यअनुसार आम्दनी भएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले जानकारी दिए । करको दायरामा अझ धेरैलाई समेटन बाँकी रहेको भन्दै प्याकुरेलले केही प्रतिशत आम्दानी वडामा उपलब्ध गराउने नीति लिइएको बताए ।