सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको समान २–२ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो ।
स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ । मूल्य समायोनपश्चात् पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर पाइने छ । निगमले खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको र अमेरिकी डलरसँग नेपाली मुद्रा पनि केही बलियो भएको कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमका निर्देशक एवं प्रवक्ता इन्जिनीयर वीरेन्द्र गोइतले बताए ।
समायोजनपश्चात् पनि भारतको रक्सौलभन्दा नेपालको वीरगंज तर्फको सीमामा पेट्रोल प्रतिलिटर १० रुपैयाँ ४१ पैसा, डिजल १२ रुपैयाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ । निगमलाई पछिल्लो पन्ध्र दिनको नाफासमेत मिलाउँदा अझै करिब २ अर्ब ३७ करोड घाटा पूर्ति हुन बाँकी रहेको प्रवक्ता गोइतको भनाइ छ । उनका अनुसार मूल्य घटाई समायोजन गरेपश्चात् पेट्रोल, डिजेल र मट्टितेल र हवाई इन्धनमा नाफा रहेको छ भने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ८० रुपैयाँ ६९ पैसा घाटा रहेको छ ।