गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाई

सदरलाइन संवाददाता १८ असार २०८३, बिहीबार १७:५९
 
समाचार सारांश
Generated Using AI
  • दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साङ्गेतडामा यात्रुवाहक फोर्स गाडी करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुब्दा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
  • नदीको जलसतह उच्च भएकाले गाडी पूर्ण रूपमा डुबेको छ भने एक जना पुरुषलाई अचेत अवस्थामा उद्धार गरिएको छ।
  • प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गोताखोरसहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : कर्णाली राजमार्गको दैलेख–कालिकोट सडकखण्डमा यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाई भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धार कार्यमा कठिनाइ भएका जानकारी दिए ।

उनले सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र. ०२–००१ ख. १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजेको समयमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, दैलेखको साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।


दुर्घटना स्थालबाट नामथर र वतन नखुलेका एक जना पुरुष भिरमा अचेत अवस्था अड्केको अवस्थामा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए । उद्धारका सामग्रीसहित प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोज उद्धारको कार्य गरिरहेका उनले बताए ।

प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट हिँडिसकेको छ । सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजेट छुट्दा पाँच जना सवार रहेको भनिए पनि गाडीमा कति जना थिए भन्ने एकिन नभएको उनले बताए ।

उनका अनुसार गाडी ४०० मिटर तल खस्दा कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ । गाडी डुबेको स्थान प्रहरीचौकी दैलेख पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिप्रका दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ । भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलका बारेमा थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *