अक्कल र सन्तोषीलाई दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको उपाधि

सदरलाइन संवाददाता २६ बैशाख २०८३, शनिबार १३:४१
 
समाचार सारांश
Generated Using AI
  • दोस्रो नेपालगञ्ज १० म्युजिक नाइट रनको पुरुषतर्फ नेपाली सेनाका अक्कल बहादुर पाल र महिलातर्फ धादिङकी सन्तोषी श्रेष्ठ विजेता बनेका छन् ।
  • रात्रीकालीन बजार प्रवर्द्धन र स्वस्थ समाज निर्माणको उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न उमेर समूह तथा स्कुलस्तरीय दौडसमेत सम्पन्न भएको थियो ।
  • कार्यक्रमसँगै पहिलोपटक ‘स्कुल टु ओलम्पिक’ आयोजना गरी राष्ट्रिय खेलाडीहरूले विद्यार्थीहरूसँग प्रेरणादायी अन्तरक्रिया गरेका थिए ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्जमा आयोजित दोस्रो ‘नेपालगञ्ज १० म्युजिक नाइट रन’ खेलकुद, संगीत र सामाजिक एकताको उत्सवका रूपमा सम्पन्न भएको छ ।

प्रतियोगितामा नेपाली सेनाका अक्कलबहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडको उपाधि जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन् ।

एम्सबाट प्रमाणीकरण गरिएको रुटमा सम्पन्न प्रतियोगिताले नेपालगञ्जलाई अन्तर्राष्ट्रिय स्तरको रनिङ गन्तव्यका रूपमा चिनाउन मद्दत गरेको छ ।

भेट्रान, महिला तथा स्कुलस्तरीय दौडमार्फत विभिन्न उमेर समूहको सहभागिताले कार्यक्रमलाई अझ आकर्षक बनाएको आयोजक टिएस ठकुरीले बताए ।

सो दौडसंगै कार्यक्रममा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, विद्यार्थीहरूको नृत्य तथा ‘स्कुल टु ओलम्पिक’ जस्ता प्रेरणादायी गतिविधिले खेलकुदप्रति युवापुस्ताको आकर्षण बढाउने सन्देश दिएको आयोजकको दाबी छ ।

वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे ।

यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए । महिला १०किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः०० मिनेटमा दुरी पुरा गर्दा बाँके कोहलपुरकी दीपशीखा शाही ४४ः५८ः१३ मिनेटमा पुरा गरी दोस्रो भइन् ।

यसमा बाँके नरैनारपुरकी गीता साहु ५२ः२६ः३० मिनेका साथ तेस्रो भए । गीता पहिलो संस्करणकी विजेता हुन् । संगीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज र रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्ने हेतुले आयोजित रोड रेसमा भेट्रान(४५बर्षमाथि) १०किमी तर्फको उपाधि बाँके खजुराका ५५ बर्षिय भरत श्रेष्ठले जिते । उनले ५१ः०३ः१७ मिनेटमा दुरी पुरा गरे ।


यसमा बर्दिया गुलरियाका ६९ बर्षिय पुष्कर विश्वकर्मा १ः००ः४४ समयका साथ दोस्रो र नेपालगन्जका ६९ बर्षिय मंगले तामाङ १ः०३ः५९ समयका साथ तेस्रो भए ।

स्कुल स्तरीय ५ किमी दौडमा छात्रतर्फ समीर बस्नेत, बसन्त माझी र नरेश कुवँर पहिलो दोस्रो र तेस्रो भए भने छात्रातर्फ स्वस्तीका शाही, अप्सरा बम ठकुरी र जनदेवी महतारा शीर्ष तीन स्थानमा आए ।

विजेता खेलाडीलाई लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, पुर्व सदस्यसचिव भीम ओली, आयोजक क्रियटिभ गन्जका अध्यक्ष टीएस ठकुरी, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतले नगद तथा पदकबाट पुरस्कृत गरेका थिए ।

रात्रीकालीन बजारलाई प्रवद्र्धन गर्न आयोजना गरिएको म्युजिक नाइट रनमा राष्ट्रिय स्तरका गायक सुनिलसिंह ठकुरीले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । सार्थ इन्टिग्रेटेड स्कुलका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।

नेपालगञ्ज १० नाइट रन एम्सको पुर्णकालीन सदस्य हो । नेपालमा एम्स आवद्ध दुई रेस हुने नेपालगञ्ज एकमात्र सहर हो । नेपालगञ्जमा पहिलोपटक स्कुल टु ओलम्पिकयसअघि नेपालगन्जमा पहिलोपटक ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम भव्य रुपमा आयोजना गरिएको थियो ।

नेपाल ओलम्पियन एसोसियसन, रेस नेपाल र क्रियटिभ गन्जको संयुक्त आयोजनामा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा नेपालका सर्वाधिक सफल खेलाडी ओलम्पियन दीपक बिष्ट, ओलम्पियन देबु थापा, ओलम्पियन सन्तोषी श्रेष्ठ, साग दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, साग स्वर्ण विजेता जुनु राई, पहिलो पुस्ताका ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापाले विभिन्न स्कुलबाट सहभागी विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व उपकप्तान एवं सन्चारकर्मी ममता थापाले सहजीकरण गरेको स्कुल टु ओलम्पिक कार्यक्रम निकै उत्प्रेरणामुलक र फलदायी रहेको थियो । स्कुल टु ओलम्पिक सफल पार्न योगदान गर्ने नेपालगञ्ज उपमहानगरपालिका, होटल डायमन्ड प्यालेसका प्रबन्ध निर्देशक जीवनसिंह ठकुरी, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेडलाई सम्मान गरिएको थियो ।

स्कुल टु ओलम्पिक कार्यक्रममा एन्जल्स स्कुल, नेपालगञ्ज मोडल एकेडेमी, कन्या मावि सल्यानीबाग सहभागी थिए । स्कुल टु ओलम्पिक हरेक बर्ष बाँकेका विभिन्न पालिकाहरुमा आयोजना गरिने रेस नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित