समाचार सारांश
- लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लबले कोहलपुर गोल्डकपमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाए।
- रोशन छन्त्यालको अन्तिम मिनेटको गोल र आशिष थारुको दुई गोल निर्णायक बने।
- अब चार टिम सेमिफाइनलमा प्रतिस्पर्धा गर्दै प्रतियोगिता वैशाख २६ गते सम्पन्न हुनेछ।

कोहलपुर (बाँके) : कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ को तेस्रो र चौथो खेलमा क्रमश लालीगुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।
कोहलपुरको १३ बिगाह खेलमैदानमा गोल्डकपको चौथो दिन भएको तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस विजयी भएको हो । लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोशन छन्त्यालले गरे ।
आफ्नो टिमलाई जिताउन खेलको ९४ औ मिनेटमा छन्त्यालले गरेको गोल नै निर्णायक बन्यो । निकै निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित सकिएको थियो । दुवै टिमले गोलका लागि थुप्रै अवसर सिर्जना गरेपछि फिनिसिङमा चुक्दा गोलका लागि ९४औँ मिनेट कुर्नुुप¥यो ।
खेलमा म्यान अफ द म्याच लालीगुराँस एसोसियसन क्लब पोखरालाई जिताउन जर्सी नम्बर १८ का रोसन छन्त्याल घोषित भए । उनलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयाजक इश्वरी प्रसाद विश्वकर्मा, कोहलपुर गोल्डकपका सहसंयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रुपमा नगद् पाँच हजार र ट्रफी वितरण गरेका थिए ।

गोल्डकपको चौथो खेल साविक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम नेपाल पुलिस क्लब विजयी भएको छ ।
पुलिसलाई जिताउन खेलको २६औँ र ९१ औँ मिनेटमा नेपाल पुलिस क्लबका जर्सी नम्बर ७० का आशिष थारुले गोल गरे । आफ्नो टिम जिताउन दुई वटा खेल गरेका थारु नै म्यान अफ द म्याच घोषित भए । उनलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी,नेपाली सेनाका सेनानी पुकार शाह र उद्घोषक तथा गायक कोष खड्काले संयुक्त रुपमा ट्रफी र नगद् पाँच हजार रुपैयाँ वितरण गरेका थिए ।
योसँगै कोहलपुर गोल्डकपको समूह चरणको समीकरण पुरा भएको छ । समूह चरणमा जित हासिल गरेका कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी नाइजेरिया, लालीगुुराँस एसोसियसन क्लब पोखरा र विभागीय टिम नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेका छन् भने पराजित पञ्चकोशी युथ क्लब सुदूरपश्चिम,रोयल फुटबल क्लब कर्णाली प्रदेश, सातादोबाटो युथ क्लब काठमाडौँ र पराजित राइसिङ स्टार क्लब सुनवल नवलपरासी प्रतियोगिताबाट बाहिरिएका छन् ।
बुधबारदेखि सेमिफाइनल समीकरण सुरु हुनेछ । म्याच कमिस्नार दयाराम सापकोटाका अनुसार वैशाख २३ गते पहिलो र २४ गते दोस्रो सेमिफाइनल खेल हुनेछन् । फाइनल पुग्ने टिमबीच २५ गते प्रिम्याच प्रेस कन्फ्रेन्स आयोजना गरिने आयोजकले जनाएको छ । चौथौ कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ ।


