२०८३ कात्तिक १ , शनिबार
Sadarline
२०८३ कात्तिक १ , शनिबार

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज



नेपालगञ्ज : निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ ।

धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको प्रवक्ता जिसीले बताए ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
ताजा समाचार