नेपालगञ्ज : तीन सय मजदुरको रोजगारी धरापमा पार्ने गरी बाँकेको कोहलपुर नगरपालिका–१४मा सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिज प्रालिमा मजदुर र उद्योगको सहमतिविनै जवर्जस्ती ट्रेड युनियन गठन गर्न खोजिएको छ ।
कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका स्थानीयलाई प्रतक्ष रोजगारी दिदै आएको विगत ४ वर्षदेखि स्थापित उद्योगमा हाल कार्यरत नरहेका गैर मजदुरलाई संगठित गरी जवर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि उद्योगमा कार्यरत सबैजसो मजदुर त्यसको प्रतिकारमा उत्रिएका हुन् ।
मजदुरको सहमतिविनै उद्योगमा कार्यरत नरहेका व्यक्तिको फर्जी नाम राखी गठन गरिएको ट्रेड युनियन खारेजीको माग गर्दै उद्योगका मजदुरले गत सोमवार दिनभर नेपालगञ्जस्थित श्रम कार्यालय घेराउ गरेका थिए ।
उद्योगमा कार्यरत मजदुर सुर्जा कार्की भण्डारीले आफुलाई ट्रेड युनियन नभई रोजगारी चाहिएको बताईन । ‘ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ’–, भण्डारीले भनिन–‘हामीलाई ट्रेड युनियन चाहिएको होईन रोजगारी चाहिएको छ, त्यसैले ट्रेड युनियन खारेजीको माग गरेका हाँ ।’
सोही उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले ट्रेड युनियनका नाममा आन्दोलन गरेर बल्ल तल्ल चलेको उद्योग बन्द गराउने षडयन्त्र भएकोले आफुहरु ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालय पुगेको बताए ।
स्थानीय रामछबिले खटिकले उद्योग बन्द हुँदा सबैभन्दा बढि मारमा आफुहरु पर्ने भएकोले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गर्न भन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुरहरु लाग्नु पर्ने बताए ।
सो उद्योगमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघले शान्ति रानाको नेतृत्वमा मजदुर संघ गठन गरेको छ । उद्योगका प्रवन्धक पूर्णबहादुर बिष्टले संघको नेतृत्व गरेकी राना सहितका अधिकांश सदस्यहरु उद्योगमा कार्यरत नै नरहेको बताए ।
उनले उद्योगमा कार्यरत नै नरहेका फर्जी नामको छानविनै नगरी श्रम कार्यालयले ट्रेड युनियन गठन गरेकोमा आपत्ति जनाए । उद्योगमा कार्यरत सबैजसो मजदुरले ट्रेड युनियन खारेजीको माग गर्दै श्रम कार्यालय पुग्दा कार्यालय प्रमुख कमल पौडलले गैरजिम्मेवार व्यवहार देखाएको उनको आरोप छ ।
ट्रेड युनियनकी अध्यक्ष रानाले आफुहरुले मजदुरहरुको हकहितका लागि ट्रेड युनियन खोलेको बताईन । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उनको आरोप छ । यद्यपी उद्योगले भने राना लगायत ट्रेड युनियनमा लागेका मजदुर आफ्नो कम्पनीको नभएको र उनीहरु मध्ये अधिकांशको पेरोल सिट समेत नभएको जनाएको छ ।
सो कारखानामा काम गर्ने कामदार ट्रेड युनियन गठनसँगै विभाजित भएका छन् । अधिकांश मजदुरहरु उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।
ट्रेड युनियन खारेजीको माग गर्ने मजदुरहरुलाई ट्रेड युनियनका नेताहरुले डरत्रास र धम्की दिने गरेको उद्योगमा कार्यरत मजदुर कोहलपुर १५ निवासी शोभाराम यादवले बतए । उनले भने–‘ हाम्रो बिरोध गरे जे पनि हुन सक्छ । जस्ता धम्की पाएको छु । तै पनि म कारखाना निरन्तर सञ्चालन होस भन्नेमा छु ।’
ट्रेड युनियन गठनका नाममा आन्दोलन र धम्कीले कथमकदाचित उद्योग बन्द भए यहाँका तीन सय बढि मजदुरको रोजगारी गुम्ने भएकोले आफुहरु चिन्तित् रहेको यादवको भनाई छ ।
उद्योगका म्यानेजर विष्टले आर्थिक संकटमा सबैको पहलबाट कारखाना सञ्चालनमा ल्याईएको बताउदै अरबौ ऋणमा भएको कारखानाले ट्रेड युनियनको नाममा कसरी आर्थिक भार थेग्न सक्छ प्रतिप्रश्न गरे ।