नेपालगञ्जका सडकमा फोहोर फाल्नेलाई जरिवाना

सदरलाइन संवाददाता १४ फाल्गुन २०८०, सोमबार १४:५५
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक–पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो ।

स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ । यसैक्रममा आधा दर्जन बढी व्यापारिक फर्म, बैंक तथा पसललाई जरिवाना गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

आइतबार साँझ ग्लोबल आइएमई बैंक, राही मार्ट, शर्मा प्लास्टिक, ए टु जेड मोबाइल पसल, रोयल कर्णाली मार्ट, राहुल मःम सेन्टर र मयुरिया रेस्टुरेन्ट एण्ड बारले सडकमा जथाभावी फोहोर फालेको भेटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जनही ५ हजार तथा पुष्पा इलेक्ट्रिकल्स सप्लायर्सलाई सडकमा २४ घण्टा भन्दा बढी समयदेखि निर्माण सामग्री राखेवापत ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।


नगर प्रमुख प्रशान्त विष्ट, नगर प्रहरी, नेपालगञ्ज उद्योग बाणिज्य संघ, नागरिक समाज, होटेल व्यवसायी संघ लगायत सर्वपक्षीय टोलीले धम्बोझी चोकदेखि गुल्मसम्म सडकको दायाँबायाँ क्षेत्रमा अनुगमन तथा निरीक्षण गरेको थियो । त्यसक्रममा सडकमा फोहोर फाल्ने र लामो समयसम्म निर्माण सामग्री सडकमै थुपार्नेलाई जरिवाना गरिएको हो ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नागरिक तहमा जागरण ल्याउन सचेतना प्रवर्द्धन अभियान थालेको थियो । अनुगमन टोलीमा नगर प्रहरी प्रमुख सूर्य बोगटी, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिम रानाभाट, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, सामाजिक अभियन्ता एवम् व्यवसायी गोपाल गिरी, व्यवसायी ध्रुब दाहाल लगायत सहभागी थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ । नगर प्रमुख विष्टले नगर सफा राख्नु सबै नगरबासीको दायित्व भएको भन्दै जथाभावी फोहोर नफाल्न आग्रह गरे । विष्टले अब हरेक दिन साँझ नगरमा अनुगमन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाभर सामुदायिक होमस्टेमा घोंगी खाने प्रतियोगिता आयोजना

१४ फाल्गुन २०८०, सोमबार १४:५५
नेपालगञ्ज : पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ । मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो । आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी अहिले सबैको रुचि बन्दै गएको हो । थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ । यसको चर्चासँगै […]