गाई पालनबाट मनग्य आम्दानी गर्दै कोहलपुरकी शारदा

सदरलाइन संवाददाता ११ माघ २०८०, बिहीबार १७:३९
 

नेपालगञ्ज : स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएकी कोहलपुर–१२, चप्परगौडीकी शारदा शर्माले गाईपालनबाट वार्षिक छ लाख बढी आम्दानी गरिरहेकी छन् । ३८ वर्षीय शर्माले सञ्चालन गरेको सिर्जनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मको रूपमा परिचित हुन सफल भएको छ ।

उनले १८ वर्षअघि १५ हजार रुपैयाँको लगानीमा शुरु गरेको गाई फार्म अहिले जिल्लाकै नमुना फार्मका रूपमा स्थापित हुन सफल भएकोमा आफूलाई निकै खुशी लागेको र गरे के हुँदैन भन्ने कुरा प्रमाणितसमेत भएको बताइन् ।

शुरुमा एउटा उन्नत गाई किनेर गाईपालन सुरु गर्न‘भएको शारदाले ३२ वटासम्म गाई पु¥याउन सफल भइन् । शारदाको फार्ममा अहिले १६ वटा गाई छन् । त्यसमध्ये सात वटा दुहुना, पाँच वटा गाभिन, एक बाच्छो र चार बाच्छी छन् । २८ वटा गाई यो बिचमा बिक्री गरेको उनले बताइन् । अहिले शारदाले प्रतिदिन ७० लिटरसम्म दुध बिक्री गर्छिन् । एउटै गाईले बिहान बेलुका गरेर २७ लिटरसम्म दुध दिने गरेको उनी बताउँछिन् ।

भारतको आसाममा रोजगारीका क्रममा रहेका आफ्ना पितालाई १८ वर्षअघि देशमै केही गरौँ भनी कन्भिन्स गरेर फर्किएको र त्यसलगत्तै गाईपालन शुरु गरेको उनी बताउँछिन् ।


गाईपालन शुरु गर्दा धेरै दिन नटिक्ने भनी खिल्ली उडाउनेहरू पनि आफू गाईपालनमा सफल भएपछि गाई पाल्ने तरिका सोध्न आउन थालेको उनी बताउँछिन् । आफ्नो जमिनले नपुगेर उनले नजिकै रहेको छिमेकी वडामा जमिन भाडामा लिएर पनि घाँस लगाएकी छन् ।

गाईपालनको आम्दानीबाट चप्परगौडीमा घर बनाएको, भाइहरूले र आफूले पनि स्नातकोत्तरसम्मको अध्ययन गरेको, बर्दियामा दुई बिघा जग्गा किनेको, कोहलपुरको एनटिभी रोडमा घडेरी किनेको र एक भाईको विवाह सम्पन्न गरेको उनी बताउँछिन् ।

गाईपालन व्यवसायलाई राम्रो ढङ्गले अघि बढाएपछि विभिन्न सरकारी निकायले पनि सहयोग र प्रोत्साहन गरेको उनको भनाइ छ ।

सरकारले जिल्ला पशुसेवा कार्यालयमार्फत २०७० सालमा युवालक्षित कार्यक्रम अन्तर्गत दुई लाख रुपैयाँ अनुदान दिएको थियो भने पशु प्रजनन केन्द्रले गोठ सुधारका लागि २० हजार रुपैयाँ दिएर उनलाई प्रोत्साहित गरेको छ । गाईलाई खुवाउने घाँसका बिउहरू नियमित रूपमा पशु सेवा कार्यालयले घरसम्मै ल्याएर दिने गरेको शारदाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुरक्षाको दृष्टिकोणले कमजोर नौवस्ता कारागार

११ माघ २०८०, बिहीबार १७:३९
नेपालगञ्ज : बाँकेको नौवस्तामा नवनिर्मित कारागार भवनको भौतिक पूर्वाधार सुरक्षाका हिसाबले कमजोर देखिएको छ । ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको सो कारागारमा कैदीबन्दी सार्ने तयारी भइरहेका बेला सुरक्षाका दृष्टिकोणले सो कारागार भवन कमजोर रहेको सुरक्षा अधिकारीले नै बताएका छन् । नेपालगञ्जस्थित पुरानो र जीर्ण कारागारमा कैदीबन्दी राख्ने ठाउँ […]