बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिद गर्न शुरु

सदरलाइन संवाददाता ६ मंसिर २०८०, बुधबार १३:५३
 

नेपालगञ्ज : नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न शुरु गरेको छ ।

कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावित राम यादवलाई अबिर र फूलमालाले स्वागत गरेर धान खरिद शुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए ।

उनले पालिकाको सिफारिस लिएर आएका किसानहरुको धान परीक्षण गरेर एक जना किसानबाट बढीमा ४० क्विन्टल धान खरिद गर्न शुरु गरिएको बताए ।

प्रमुख लामिछानेले यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिईएको जनाउँदै ३३ हजार क्विन्टल मोटा र १८ हजार मध्यम धान खरिद गर्न लागिएको बताए । उनले भने, ‘बुधबारबाट किसानको धान खरिद गर्न शुरु गरेका छौँ । पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था रहनेछैन ।’


गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको लामिछानेले बताए । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ कायम गरेकोले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरेको छ ।

कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा धान विक्रि गर्न आउनुभएका जानकी ५ का किसान सावितराम यादवले यस वर्ष धान राम्रो उत्पादन भएको जनाउँदै तर सरकारले ढिला खरिद शुरु गरेको गुनासो गरे । उनले यसअघिनै धेरै किसानले बाध्य भएर दुई हजार ९०० रुपैयाँ मूल्यमा व्यापारीलाई धेरै मध्यम धान विक्रि गरिसकेको बताए । अहिले खाद्य व्यवस्था कम्पनीले खरिद शुरु गरेपछि व्यापारीले तीन हजारमा खरिद गरिरहेको यादवको भनाइ छ ।

यस वर्ष तोकिएको ५१ हजार क्विन्टल धान खरिद नभएसम्म खरिद जारी राखिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले जनाएको छ । गत वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरेको कम्पनीले विभिन्न कारण र समस्याले गर्दा ९ हजार क्विन्टल मात्रै खरिद गर्न सकेको थियो । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव सेवा आश्रममा एक जना पुरुष मृत फेला

६ मंसिर २०८०, बुधबार १३:५३
दाङ : दाङको तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाईडर स्थित मानव सेवा आश्रममा वतन नखुलेका ५३ वर्षिय अब्दुल नजिर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक जनक मल्लले जानकारी दिए । […]