टीकापुर : यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
फूल प्रतिकिलो ५०० का दरले बिक्थ्यो, टिपेको पाँच क्विन्टल फूल खेर गएको छ यत्तिकै मात्राको फूल टिप्न बाँकी छ, एक विघा पाँच कठ्ठा जमिनमा फूलखेती गरेका टीकापुर नगरपालिका १ बनगाउँका किसान सीताराम चौधरीले गुनासो गरे ।
उनले भने, ‘डेढ लाखको फूल मात्र बिक्यो होला, बाँकी सबै खेर गयो, कसलाई दोष दिऊँ ? आफ्नै भाग्यलाई दोष दिनुपर्छ अब विवाहको लगन नआउँदासम्म फूल बिक्दैन । अरुबेला १२० पर्ने माला ८० रुपियाँ लगाउँदा पनि बिकेन ।’
छ वर्षअघि सुरु भएको सीतारामको फूलखेतीले साना उद्योगको रुप लिइसकेको थियो । बाह्रै महिना फूल उत्पादन हुने भएकाले १५ जना जतिले आंशिक रोजगार पनि पाएका थिए । तर यस पटक उत्पादन गरेर पनि बजारीकरण गर्न नसकेकाले व्यवसाय डुबेको चौधरीको दुःखेसो छ ।
यस्तै, जानकी गाउँपालिका १ का किसान छत्र मल्ले पनि फूल बिक्री नभएको भन्दै फूल नै सडकमा विसर्जन गरेका छन् । ‘पचास किलो जति मात्रै बिकेको छ सात कठठामा रहेको साढे दुई क्विन्टल फूल टिपेकै छैन ।’ मल्लले भने, ‘भारतबाट आउने फूल र प्लाष्टिकका माला रोकिदिन पालिकालाई अनुरोध गर्दा सुनुवाई भएन, स्थानीय उत्पादनले बजार पाएन ।’
यस्तै प्राकृतिक स्रोत व्यवस्थापन कलेज छैठौं सेमेष्टरका विद्यार्थीले लगाएको फूलले पनि बजार पाएन । विद्यार्थी कुबेर जैसी विद्यार्थीले पाँच कठ्ठामा लगाएको फूल नबिकेको र ३०० जति तयारी माला बिक्री नभएको बताए ।
यसवर्ष तिहार ढिलो भएकाले व्यक्तिका बारीमा पनि फूल फूलेका छन् । बाहिरबाट फूल र प्लाष्टिकका माला पनि यहाँ भित्रिएका छन् । यसले उत्पादक मात्रै होइन विक्रेता पनि घाटामा गएका छन् ।