बाँकेमा एक वर्षमा सवा सय सडक दुर्घटना

सदरलाइन संवाददाता ४ श्रावण २०८०, बिहीबार १६:२२
 

नेपालगञ्ज : बढ्दो सवारी साधन र चालकको लापरवाहीले बाँकेमा सडक दुर्घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र जिल्लामा १२४ वटा सडक दुर्घटना हुँदा ६० जनाको मृत्यु र १२९ जना घाइते भएका थिए । दुर्घटनामा परेर १० वटा पशु चौपायाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले तीव्र गतिमा बढी रहेका सवारी साधन, चालकको बेवास्ता ट्राफिक जनशक्तिको अभावले गर्दा दुर्घटना हुने गरेको बताए ।

उनले यो जिल्ला भारतीय सीमानासँग जोडिएको जिल्ला भएकोले यहाँ आउने भारतीय सवारी साधनको लापरबाहीका कारण पनि सवारी दुर्घटना बढी हुने गरेको बताए ।

सडक दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरीले ट्राफिक नियमको पालनामा कडाइ गरिरहेको जनाएको छ । तर, मादक पदार्थ सेवन र लागूपदार्थ सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रण गर्न प्रहरी पूर्णरुपमा सफल भएको पाइदैन ।

यद्यपि जिल्लाका ट्राफिक प्रहरी प्रमुख सुनारले भने आफूहरुले प्राप्त जनशक्तिको आधारमा ट्राफिक सचेतनासहित जाँचलाई पनि निरन्तरता दिंदै आएको बताए ।


उनले जिल्लामा गत आर्थिक वर्षमा मात्र मापसेका दुई हजार ८५५ वटा सवारी साधनलाई कारबाही गरेर २८ लाख ५५ हजार राजस्व सङ्कलन गरेको बताए ।

ट्राफिक प्रहरीले कोहलपुर नगरपालिकाको वडा नम्बर १२ को चप्परगौडीदेखि राप्ती सोनारीको ढकेरी हुँदै शमशेरगञ्जसम्मको सडकखण्डलाई बढी दुर्घटना हुने सडक खण्डको रुपमा पहिचान गरेर सो सडकमा विशेष निगरानी राख्ने गरेको छ ।

विभिन्न कारणले दिनप्रतिदिन हुने दुर्घटनामा ट्राफिकको मात्र भर परेर दुर्घटना कम गर्न नसकिने हुँदा नागरिक स्वयम् आफैँ सचेत र अनुशासित रहेमा ८० प्रतिशत दुर्घटनालाई न्यूनीकरण गर्न सकिने प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि गत आर्थिक वर्षमा मात्र जिल्लाका ट्राफिक प्रहरी कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेर करिब ३४ हजार बढी सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेतीकरण गर्ने काम पनि गरेको सो कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७३ वर्षीया बृद्धाको सामूहिक बलात्कार, दुई जना पक्राउ

४ श्रावण २०८०, बिहीबार १६:२२
दाङ : दाङको तुलसीपुरमा ७३ बर्षीया महिलालाई सामूहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार राति तुलसीपुर बसपार्क आइपुगेकी प्यूठानस्थित स्वर्गद्वारीकी ती ७३ बर्षीया महिलालाई ती दुई जनाले सहयोगको वाहानामा फकाएर बसपार्क भित्र पार्किङमा राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर सामुहिक बलात्कार गरिरहेकै अवस्थामा प्रहरीले […]