नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रिया पुरा गर्न मात्रै धान खरिद गरिदिँदा बाँकेका किसान मारमा परेका छन् । खाद्यले धान किन्न शुरु गरेपछि खुशी भएका किसान आफुसँग भएको सबै धान बेच्न नापाएपछि चिन्तित भएका हुन् ।
खाद्यले एक किसानको ३० क्वीन्टलमात्र धान खरिद गर्ने नियम बनाएको छ । ३० क्वीन्टल धान बेच्न पनि ती किसान आफ्नो पालिकाको कोटामा पर्नु पर्दछ । एउटा पालिकाबाट १ सय ५ जना किसानले मात्रै खाद्यमा धान बेच्न पाउँछन् ।
किसानलाई पालिका त्रि १ सय ५ जनामा पर्नुपर्ने एकातिर चुनौती छ भने अर्कोतिर त्यहाँको कोटामा परेपनि आफुसँग भएको सबै धान खाद्यमा बेच्न पाएका छैनन् । खाद्यले बजारको भन्दा प्रतिक्वीन्टल ५ देखि ६ सय रुपैयाँ मूल्य बढी दिएर धान खरिद गरेको छ ।
बाँके जानकीका चेतराम यादवसँग ६० क्वीन्टल धान छ । कोटा अनुसार उनले ३० क्वीन्टलमात्रै खाद्यमा बेच्न पाउँछन् । ३० क्वीन्टल धान लिएर खाद्यमा आएका किसान यादवले अरु ३० क्वीन्टल धान सस्तोमा व्यापारीलाई बेच्नुपर्ने बाध्यता रहेको बताए ।
खाद्यले यो वर्ष नेपालगञ्जमा २५ हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेको छ । खाद्यका स्टोरकिपर दीपक शर्माले मोटो धान २ हजार ९ सय ६७ र मध्यम धान प्रतिक्वीन्टल ३ हजार १ सय २८ रुपैयाँमा खरिद गरिरहेको जानकारी दिए । बजारमा मोटो धान २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बाँकेमा यो वर्ष १ लाख ४० हजार २ सय ८७ दशमलव ५ मेट्रिक टन धान उत्पादन भएको छ । यसलाई क्वीन्टलमा हेर्दा १४ लाख २८ हजार ७५ क्वीन्टल हुन आउँछ । खाद्यले नेपालगञ्जमा २५ हजार क्वीन्टलमात्र धान खरिद गर्दैछ ।