२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

मार्सी धान भित्र्याउने चटारो



जुम्ला : विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान भित्र्याउन सुरु भएको छ । किसानलाई जिउलोमा पाकेर तयार भएको मार्सी धान भित्र्याउन अहिले भ्याइनभ्याइ छ । स्थानीय दंसी सार्कीले मार्सी धानको उत्पादन राम्रो भए पनि वर्षाका कारण अधिकांश खेत बाढीले बगाएर लगेको बताए ।

‘नदी किनार र खहरे खोलाको छेउछाउमा रोपिएका सबै धान खेत बगे,’ उनले भने, ‘दसैंलगत्तै भित्र्याउने योजना थियो, तर वर्षाले समस्या भयो, अब तिहारअघि नै भित्र्याउने योजना छ ।’

स्थानीय सत्यदेवी रोकायाले जिउलोमा धान पाकिसकेको बताइन् । उनका अनुसार प्रतिकूल मौसमका कारण दसैंअघि धान भित्र्याउन समस्या भएको थियो । ‘मौसममा सुधार आएपछि जिउलोभरि मार्सी धान भित्र्याउने लहर नै चलेको छ,’ उनले भनिन्, ‘बिहान सबेरैदेखि साँझ अबेरसम्म धान भित्र्याउनै व्यस्त छौं ।’ उनका अनुसार एक हप्तासम्म वर्षा नभएको खण्डमा सबै धान घरमा भित्र्याइन्छ ।

जुम्लामा चैतदेखि धान खेती सुरु हुन्छ । चन्दननाथ बाबाले प्रतिपादन गरेको भनिएको मार्सी धान निकै लोकप्रिय र ख्यातिप्राप्त धान बाली हो । पछिल्लो समय रोगकिराको संक्रमण र बीउ पुरानो भएकाले उत्पादनमा कमी आउन थालेको छ । अहिले जुम्ली किसान जिउलोमा धान काट्न र चुट्न व्यस्त छन् ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार
ताजा समाचार