नेपालगञ्ज : मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।
देशकै सर्वाधिक धनराशिको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ ।
उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् । दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरूलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रमका विशिष्ट अतिथि सुप प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकवहादुर सिंह रहेका थिए । कैलाली जिल्ला कबड्डी सङ्घका अध्यक्ष कमल पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।