बर्दिया : बर्दियाको बढैयाताल गाउँपालिकामा लगाइएको मकैबालीमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । बढैयाताल गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ मा लगाइएको मकैबालीमा अमेरिकन फौजी किरा प्रकोपकैरुपमा देखा परेको हो ।
वडा नम्बर ४ को बुटहा, दक्षिण भकारी, मानकीनार, वडा नम्बर ५ को फुलबारी, बढैया वडा नम्बर ३ को सोरहवा गाउँका किसानले लगाएको सयौ बिघा मकैबालीमा फौजी किरा फैलिएको छ । किराको प्रकोप सबै भन्दा बढी वडा नम्बर ४ को बुटहा र दक्षिण भकारी गाउँको मकैबालीमा देखा परेको छ ।
बारीको आधा मकै फौजि किराले खाएर सखाप बनाईसकेको बुटहा गाउँका किसान संगीता थारुले बताइन् । घोघा लाग्ने बेलामा फौजी किरा फैलिएपछि किसान तनावमा परेका छन् । बढैयाताल गाउँपालिकाका कृषि शााखामा जानकारी गराउँदा पनि किरा व्यवस्थापनका लागि कुनै ठोस पहल हुन नसकेको थारुको गुनासो छ ।
बढैयाताल गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र श्रीवास्तवले फौजिकिरा फैलिएकोबारे आफुलाई जानकारी नभएको बताए । किरा मार्नका लागि इमिडाक्लोरोपिड र इमाष्टिक बेन्जेट नामक दुई थरीको बिषादी छर्कन उनले सुझाव दिए ।