काठमाण्डौ : नेपाल सरकारले प्याजको निर्यात गर्न भारतसँग आग्रह गर्ने भएको छ । आयात नहुँदा प्याजको माग र मूल्य बढेपछि सरकारले भारतसँग प्याजको निर्यात गर्न आग्रह गर्न लागेको हो ।
चाडपर्व नजिकिन थालेकाले प्याजको निर्यात नरोक्न भारतसँग औपचारिक आग्रह गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बजारमा आज सुकेको प्याजको थोक मूल्य किलोको १ सय २० रुपैयाँ छ ।
खुद्रामा थोक मूल्यभन्दा दोब्बरमा किन्न उपभोक्ता बाध्य छन् । प्याजसँगै आलु र हरियो तरकारीको मूल्य पनि बढेको छ । लकडाउन, निषेधाज्ञासँगै पानी परिरहेकाले आलु प्याजसँगै हरियो तरकारीको आपूर्तिमा समस्या हुँदा भाउ बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
उपभोक्ता अधिकारकर्मीले भने बजारमा तरकारी नआएरभन्दा पनि आएका तरकारीको कालोबजारी हुँदा भाउ बढेको बताएका छन् । सरकारले प्याजको मूल्य केही बढे पनि कोभिड(१९ का कारण बजारमा खाद्य सामग्रीको आपूर्ति असहज नभएको दाबी गरेको छ ।