सदरलाइनडटकम,
नेपालगञ्ज : कोभिड–१९ को कारणले समस्यामा परेका खेलाडीलाई बाँके जिल्ला फुटबल संघले खेलाडीलाई राहत वितरण गरेको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको राहत वितरण गरिएको बताए ।
उनले भने–‘एन्फाले ७५ हजार पठाएको थियो । बाँके जिल्ला फुटबल संघले ४३ जना खेलाडीलाई एक हजार सात सय ४५ रुपैयाका दरले वितरण गरेको छ ।’
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमी परिसरमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई राहत वितरण गरिएको हो ।
प्रदेश सांसद एवं ओलम्पियन सुरेन्द्र हमालले बाँके जिल्ला फुटबल संघको अगुवाईमा बन्दै गरेको फुटबल संरचनाहरुको प्रशंसा गर्दै खेलाडीलाई थोरै भएपनि सहयोग गरेकोमा धन्यवाद दिए ।
खेलाडीहरुलाई नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, एन्फाका पूर्व उपाध्यक्ष गोवद्र्धनसिंह सम्झना, जिल्लाका पदाधिकारीहरु गोविन्द श्रेष्ठ, वीरेन्द्र श्रेष्ठ, धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्कालगायतले राहत वितरण गरेका हुन ।