सदरलाइनडटकम,
नेपालगञ्ज : लामो समयदेखि जारी लकडाउनका कारण ब्यापार, ब्यवसाय धरापमा परेको भन्दै नेपालञ्ज उद्योग बाणिज्य संघले व्यावसायिक र घरबहाल कर छुटको माग गरेको छ । संघले सोमवार नेपालगञ्ज उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै कर छुटको माग गरेको हो ।
लामो समयदेखि उद्योग, व्यवसाय ठप्प भएपनि संघीय सरकारका तर्फबाट कुनै सहुलियत घोषणा नगरेको भन्दै यवसायीले स्थानीय सरकारको अभिभावकत्व खोजेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए ।
नेपालगञ्जका मेयर डा. धवल शमशेर राणालाई भेटेर संघका अध्यक्ष मन्सुरीले पश्चिम क्षेत्रको आर्थिक केन्द्रको रुपमा रहेको नेपालगञ्जको साख जोगाई राख्न स्थानीय सरकारसँग घरबहाल र व्यावसायिक करमा छुट दिन माग गरे । उनले कोरोना संक्रमण रोक्न लकडाउन गरिएको झण्डै तीन महिना बित्दा समेत राज्यको तर्फबाट कुनै राहत घोषणा नहुनु दुःखद भएको बताए ।
बैंकको ब्याज, घरधनीको घरभाडाका लागि साँझ, बिहान कचकच सुन्न बाध्य भएको बताउँदै अध्यक्ष मन्सुरीले लकडाउनको असर उद्योगी व्यवसायीलाई झेल्नै नसकिने समस्या भएको बताए । संघले स्थानीय तहका तर्फबाट व्यावसायिक र घरबहाल करमा शतप्रतिशत छुट दिन माग गरेको हो ।