सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सम्पूरक र विशेष अनुदान उपलब्ध नगराएको भन्दै राष्ट्रिय योजना आयोगको गम्भिर ध्यानाकर्षण गराएको छ ।
आयोगलाई लेखिएको पत्रमा बिधि, प्रकृया, कानुन तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आर्थिक बर्ष २०७७/०७८ को बजेटमा समाबेश नगरिएकाले उपमहानगरपालिकाको गम्भिर ध्यानआकर्षण भएको उल्लेख गरिएको छ ।
मेयर डा. धवलशम्शेर राणाको हस्ताक्षर रहेको पत्रमा उपमहानगरपालिका आफैले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपुरक अनुदान र विशेष अनुदान माग गरि समयभित्रै पठाइएको स्मरण गराइएको छ ।
संंघीयताको शुरुवाती चरणमा रहेका स्थानीय तहहरुका लागि बिशेष तथा समपुरक अनुदानले संघीयतालाई मजवुद बनाउन तथा बित्तीय संघियताको अवस्था चित्रित गर्न सहयोग गरेको हुन्छ, अर्थ मन्त्रालयलाई समेत बोधार्थ पठाइएको पत्रमा भनिएको छ, यसरी उपमहानगरपालिकाबाट माग गरिएका समपुरक तथा बिशेष अनुदानका कुनै पनि योजना बजेटमा समाबेश नगरिनुले यस उपमहानगरपालिका स्तब्ध रहेको छ ।