सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोनाका कारण भारत सरकारले लकडाउन गरेपछि कामका लागि भारत गएका नेपालीको विचल्ली भएको छ । भारत सरकारले रासन कार्ड भएका मजदुरलाई मात्र राहत वितरण गर्ने नीति अघि सारेपछि कामका लागि भारत गएका नेपालीलाई एक छाक टार्न मुस्लिक परेको छ ।
जुन देशमा बसेको छ त्यहि देशमा बस्नुपर्ने नीति दुई देशले अघि सारेपछि नेपाल आउन इच्छा हुँदाहुँदै पनि भारतमै बस्न बाध्य भएका नेपालीले राहतका लागि भारत सरकारसँग आग्रह नगरेका होइनन् । तै पनि रासन कार्ड नभएकै कारण सुविधाबाट बञ्चित हुन परेको उनीहरुको भनाई छ ।
तर, कामका लागि भारत गएर अलपत्र परेकालाई नेपाली आवद्ध संघसंस्थाले राहत वितरण गरेर दुखमा मल्हम लगाउँदै आएका छन् । मुल प्रवासी अखिल भारत नेपाली एकता समाज, रिकाङ्गपिओ, हिमाञ्चलले अलपत्र परेका ३३ परिवारलाई राहत वितरण गरेर नेपालीको दुःखमा साथ दिएको दाङ, हापुरेका प्रेमबहादुर ओलीले बताए ।
उनले मजदुरी गर्ने ठाउँ बन्द भएपछि दैनिक गुजारा गर्न असहज भएको बेला राहत सामग्री पाउँदा धेरै राहत मिलेको बताए । ‘साँझ खाएपछि विहान के खाउँ भन्ने समस्या भएको थियो । एक महिना पुग्ने राहत सामग्री मिलेपछि ढुक्क भइयो,’ उनले भने, ‘सर्पले सर्पको खुट्टा देख्छ भन्थे साँचिकै रहेछ नेपालीले हाम्रो पिरमर्का बुझेर राहत दिए ।’
हिमाञ्चलको स्याउ बगैचामा काम गर्ने कोहलपुर बाँकेका लालबहादुर थापाले पनि राहत सामग्रीले धेरै राहत मिलेको बताए । उनले पहिले कमाएको पैँसाले एक महिना जेनतेन धानेको बताए । ‘खाने कुरा सकिएको थियो, मुल प्रवासी अखिल भारत नेपाली एकता समाज, रिकाङ्गपिओका नगर सचिव मिथुन सिंहको नेतृत्वमा राहत सामग्री पाएपछि धेरै ठूलो राहत महशुस भएको छ,’ उनले भने ।
लकडाउनका कारण नेपालीलाई खान समस्या भएपछि बेखर्चीलाई खर्चको ब्यवस्था गरेको सचिव सिंहले बताए । उनले नेपालीले नेपालीलाई मात्र नभई मानवले मानवको सेवा गरेमात्र मानव कहलाउने बताए । मजदुरी गर्न आएका नेपाली अर्काको भूमिमा अलपत्र परेपछि मुल प्रवासी अखिल भारत नेपाली एकता समाजको तर्फबाट खाद्यन्न वितरण गरिएको एचपी रोयल पशुपति टुर्स एण्ड ट्राभल्सका अध्यक्ष समेत रहेका सिंहले बताए ।
समाजले प्रति परिवार १५ किलो चामल, १५ किलो पिठो, तीन किलो दाल, दुई किलो नुन, एक लिटर तेल, मसला लगायतका सामग्री हिमाञ्चलस्थित स्थानीय सरकारको समन्वयमा वितरण गरिएको अम्बिकेश्वरी मल्टी यातायात प्रालिका अध्यक्ष भद्रबहादुर ओलीले बताए ।
उनले दैनिक हातमुख जोर्न समस्या भएका मजदुरका परिवारलाई राहत सामग्री प्रदान गरिएको बताउँदै कामका लागि भारत गएका नेपालीलाई खान समस्या भएको बताए । ‘लकडाउन जति लम्बिन्छ त्यति नै समस्या थपिदै जान्छ,’ उनले भने ।