सदरलाइनडटकम,
काठमाण्डौ : प्रहरीले करोडौंको भारतीय नक्कली नोटसहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट शुक्रवार पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाण्डौ आएको कतार एयरवेजको जहाजमा आएका तीन जना पाकिस्तानीबाट ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको हो ।
तीन पाकिस्तानी नागरिकसहित ६ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा पैसा लिन गएका युनुसमियाँ अन्सारी र उनीसँगै रहेका अन्य दुई जना पनि पक्राउ परेका छन् । यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका युनुस अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए । उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो ।
अन्तर्राष्ट्रीय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा जाली नोट ल्याइएको भेटिएको हो । भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए ।
नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको थियो । त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान थिए । अन्सारी त्यसबेला २०७० असोज १८ मा केन्द्रीय कारागारबाट रिहा भएका थिए । अन्सारी पटकपटक नक्कली भारतीय रुपैयाँ र लागूपदार्थको कारोबार गरेको आरोपमा पक्राउ परेका थिए । अन्सारीमाथि केन्द्रीय कारागारभित्रै भारतीय ‘सार्प सुटर’ले गोली हानेका थिए ।