टिटानस इन्जेक्सन अभाव, उपचारमा समस्या

१५ भाद्र २०७५, शुक्रबार ०८:१६
 

रुद्र सुवेदी,
नेपालगन्ज  :  नेपालगन्जलगायत आसपासका सहरमा टिटानसको इन्जेक्सन अभाव भएको पाइएको छ । चोटपटक लागेर उपचारका लागि अपस्ताल आउने बिरामीका लागि आवश्यक पर्ने टिटानस इन्जेक्सन औषधि बजारमा नै अभाव भएको हो ।
नेपालगन्जको भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जलगायतका अस्पतालको आपत्कालीन कक्ष (इमर्जेन्सी) मा उपचारका लागि आउने बिरामीको उपचारमा कठिनाइ आउन सुरु भएको अस्पताल स्रोतले जनाएको छ ।
औषधि व्यवसायी संघ भेरी अञ्चल शाखाका प्रवक्ता जीवन शर्माले करिब एक सातादेखि बजारमा टिटानसको इन्जेक्सन अभाव भएको जानकारी दिए । उनले दिएको जानकारीअनुसार भारतीय कम्पनीले उत्पादन गरी वीरगन्जमा रहेको ‘सुपर’ स्टोरमा आउने र त्यहाँबाट थोक बिक्रेता हुँदै रिटेलर खुद्रा मेडिकलमा पुग्ने गरेकोमा एक सातादेखि सो इन्जेक्सनको अभाव देखिएको हो ।
उनले भने, ‘कम्पनीले उत्पादन गरी वीरगन्जमा सुपरमा पठाउने र सुपरबाट थोक बिक्रेताकाहा आउने त्यहाँबाट मेडिकलमा पुग्ने गरेकोमा हामीले थोक पसलेलाई सोध्दा सुपरमा सर्टेज छ भन्ने जवाफ पाएको र सुपरमा बुझ्दा कम्पनीबाटै आएको छैन भन्ने जवाफ पाएका छौं ।’
टिटानसको इन्जेक्सनको अभाव भएका कारण टिटानस भएका बिरामीका लागि प्रयोग हुने एन्टी टिटानस सेरम, जुन चोटपटक लागेको ४८ घन्टापछि लगाइने इन्जेक्सन प्रयोग गर्ने गरेको छ जुन अत्यधिक महँगो हुन्छ ।
भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले अस्पतालले सो इन्जेक्सन उपलब्ध गराउने नभई बिरामी आएको खण्डमा बिरामीले नै खरिद गर्नुपर्ने भएकाले अस्पताललाई जानकारी नभएको बताए । उनले टिाटनसको इन्जेक्सन नभएको खण्डमा अल्टरनेट प्रयोग गर्न सकिने जुन सामान्यभन्दा अलि महँगो हुने जानकारी दिए ।
भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी सुदीप पौडेलले अस्पतालमा उपचारका लागि आउने बिरामीले बजारमा टिटानसको औषधि नभएको गुनासो गरेको बताए । उनले सीमावर्ती रुपैडिहामा समेत अभाव रहेको आफूलाई जानकारी आएको बताए ।
नेपालगन्जमा वितरणको जिम्मेवारी लिएको राज फर्मास्युटिकलका सञ्चालक विनय रस्तोगीले आफूले करिब एक महिना अघिदेखि सप्लाई नपाएको बताए । उनले भने, ‘हामीले मेडिसेल्स काठमाडौंबाट सप्लाई लिएर यहाँ वितरण गर्ने हो तर करिब एक महिनादेखि नै काठमाडौंले सप्लाई नै दिएको छैन, नेपालगन्जमा पुरै अभाव छ ।’
औषधि व्यवस्था विभाग नेपालगन्ज कार्यालयका निमित्त कार्यालय प्रमुख सुरज गौतमले टिटानस इन्जेक्सन बजारमा अभाव भएको आफूलाई जानकारी नभएको बताए ।
यसैबीच, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बाहिर बजारमा चलेको चर्चाजस्तो औषधि सर्टेज नभएको दाबी गर्दै भने, ‘उत्पादन गर्ने सिरम नामको कम्पनी बन्द भएको र अर्को कम्पनीको उत्पादन अलि कस्ट्ली पर्ने भएका कारण बिक्रेताले नलिएको हुन सक्छ तर औषधि भने आवश्यक मात्रामा छ ।’ तस्वीर : गुगलबाट , राजधानी दैनिकबाट

Next Post

कञ्चनपुरमा फेरि एक बालिका बलात्कृत

१५ भाद्र २०७५, शुक्रबार ०८:१६
सदरलाइनडटकम, कञ्चनपुर : निर्मला पन्त प्रकरण अनुसन्धानमै रहेका बेला कञ्चनपुरमा फेरि एक बालिका बलात्कारको शिकार भएकी छन् । बेल्डाँडी गाउँपालिका १ की १५ वर्षीया एक बालिका बिहीवार राति बलात्कारमा परेकी हुन् । घरमा बिहीवार सत्यनारायणको पूजा रहेको र पूजा सकिएपछि नाचगानका क्रममा उनलाई एकजना चिनेका व्यक्तिले फोन गरी बाहिर बोलाएका थिए […]

सम्बन्धित