समाचार सारांश
- नेपालगञ्जमा बाँके युनेस्को क्लबले कुपोषण व्यवस्थापन सम्बन्धी ३ दिने स्वास्थ्यकर्मी तालिम सम्पन्न गरेको छ।
- तालिमले पोषण सेवा सुधार, स्क्रिनिङ, उपचार र रिपोर्टिङ सीप विकासमा केन्द्रित रहेको थियो।
- कार्यक्रममा ३३ जना स्वास्थ्यकर्मी सहभागी भई व्यवहारिक ज्ञान र क्षमता अभिवृद्धि गरेका छन्।

नेपालगञ्ज : बाँके युनेस्को क्लबले नेपालगञ्जमा कुपोषणको एकिकृत व्यवस्थापन सम्बन्धी तीनदिने स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ ।
क्लबले हेलन केलर इन्टरनेशनल नेपालसँगको सहकार्य तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा बाँके जिल्लामा संचालनमा रहेको जिवनकालागि पोषण परियोजना अन्तर्गत सो तालिम नेपालगञ्जमा संचालन गरेको हो ।
तालिमको उद्देश्य स्वास्थ्यकर्मीहरूको पोषण सेवा प्रदान गर्ने क्षमता अभिवृद्धि गर्नु तथा कुपोषणको प्रभावकारी व्यवस्थापनमा दक्ष बनाउनु रहेको क्लबले जनाएको छ ।बाँके युनेस्को क्लबका अनुसार तालिममा स्क्रिनिङ, उपचार, प्रतिवेदन तयारी तथा सहजीकरण सीप विकासमा विशेष जोड दिइएको थियो, जसले समुदाय तथा स्वास्थ्य संस्थास्तरमा गुणस्तरीय पोषण सेवा सुनिश्चित गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।
कार्यक्रमको उदघाटन सत्र नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो । महाशाखा प्रमुख चन्दले तालिमका उद्देश्य र अपेक्षित उपलब्धिहरूबारे प्रकाश पार्दै समस्याको वैज्ञानिक विश्लेषण तथा प्रमाणमा आधारित समाधानमार्फत लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए ।

तालिम अद्यावधिक आईएमएएम निर्देशिका अनुसार सञ्चालन गरिएको थियो । सहभागीहरूलाई प्रभावकारी सिकाइकालागि प्रस्तुतीकरण, समूहकार्य तथा व्यवहारिक अभ्यास जस्ता सहभागीमूलक विधिहरू अपनाइएको थियो । यसबाट सहभागीहरूको प्राविधिक दक्षता वृद्धि हुनुका साथै सरोकारवालाबीच समन्वय र सहकार्य समेत मजबुत भएको जनाइएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र बाँके युनेस्को क्लबका कार्यसमिति सदस्य स्वेता गुरुंगको विशेष उपस्थिति रहेको थियो । तालिमको सहजीकरण राजन बहादुर शाही र तेज बहादुर ओलीले गरेका थिए भने श्रीकृष्ण बस्नेतले प्राविधिक सहयोग रहेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले तालिमले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गर्दै स्वास्थ्यकर्मीहरूले सिकेका सीपहरू व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिईन । साथै, केस पहिचान, स्क्रिनिङ तथा उचित उपचार व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुपर्ने बताईन ।
उक्त तालिममा नेपालगञ्जको वडा नम्बर १ देखि २३ नम्बर वडाका स्वास्थ्यकर्मी, पोषण सहजीकर्तालगायत गरी ३३ जनाको सहभागिता रहेको थियो । कार्यक्रम व्यवस्थापन तथा सहजीकरणमा दृष्टि शाह, खिमबहादुर थापा र अनु चौधरीले सहयोग गरेका थिए ।

