सदरलाइनडटकम
२६ मंसिर, नेपालगन्ज : ‘सामाजिक रुपान्त्रणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
मंसिर २८ देखि पुस ५ गतेसम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा सञ्चालन हुने सो महोत्सवको महामहिम उप–राष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने गरी तयारी अगाडि बढाईएको आयोजकले जनाएको छ ।
महोत्सव स्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष बुद्धिप्रसाद अधिकारीले तयारी अन्तिम चरणमा पुगेको बताए । उनले महोत्सवका लागि १ सय ४० भन्दा बढि विभिन्न विधाका स्टलहरुसँग सम्झौता भइसकेको र अन्य स्टलसँग पनि सम्झौता हुने क्रम जारी रहेको जानकारी दिए ।
जसमध्ये ७५ प्रतिशत भन्दा बढि स्टलहरुमा विभिन्न विधाका स्थानीय, राष्ट्रियस्तरका पाठ्यपुस्तक, साहित्यीक कृति सहितका पुस्तकहरु रहने आयोजक नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा बाँकेले जनकारी दिएको छ ।
प्रचार–प्रसार संयोजक बसन्त लामिछानेले महोत्सव अवधिभर विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरिने र महोत्सवमा कपाल फुलेका बृद्धदेिख नर्सरी कक्षासम्म पढ्ने बालबालिका सहभागी हुने विश्वास व्यक्त गरे ।
महोत्सव उद्घाटन गर्नुअघि बिहान ९ बजे स्थानीय धम्बोझी चोकबाट शोभायात्रा निकालिने छ । शोभा यात्रामा विभिन्न झाँकी समावेश गरिने बताइएको छ । सो क्रममा केन्द्रीय र जिल्लास्तरका २/२ जना व्यक्तित्वलाई रथारोहन गराएर उद्घाटन कार्यक्रममा सम्मान गरिने आयोजकले जनाएको छ ।