सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज : बाँकेका प्रमुख निर्वाचन अधिकृत तेजनारायण पौडेलले निर्वाचन सम्पन्न भएको १८ घण्टा भित्र बाँकेका सबै स्थानीयतहको नतिजा सार्वजनिक हुने गरी तयारी सुरु गरेको बताएका छन् ।
युएनडिपी नेपालले बिहीबार नेपालगन्जमा आयोजना गरेको स्थानीय निर्वाचनमा हिंसा रहित बनाउन सरोकारवालाको सामुहिक प्रतिबद्धता विषयक कार्यक्रममा बोल्दै जिल्ला अदालत बाँकेका न्यायाधिश समेत रहेका प्रमुख जिल्ला निर्वाचन अधिकृत पौडेलले सो कुरा बताएका हुन ।
उनले भने–‘ सबै दलको सहमति भएको खण्डमा बाँकेको स्थानीय निकायको नतिजा मतदान सकेर गणना सुरु गरेको १८ घण्टाभित्र सबै नतिजा आउने गरी तयारी रहने छ । तर, कुनै अब्सट्याकल आउनु भएन ।’ उनले निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन आफ्नो दायित्व रहेको बताउदै निर्वाचन केन्द्रित कुनै पनि घटनाहरु क्षम्य नहुने बताए । उनले मतदाता शिक्षालाई सबै पक्षले मतदातासम्म लैजाने र मतदाताले दिएको मतबदर हुन नदिनको लागि पनि पहल गरिनु पर्ने बताए ।
उनले जिल्लामा निर्वाचनको वाताबरण बनाउने जिम्मेवारी पनि सत्ताधारी दलको भएकोले सबै राजनीतिक दलले आ–आफ्नो प्रचार शैलिलाई निर्वाचन आचारसंहिता भित्रै रहेर सञ्चालन गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारीले रबीलाल पन्थले जिल्लामा निर्वाचनको सुरक्षाका विषयमा कसैसंग कुनै पनि सम्झौता नगरीने बताए । उनले भने–‘निष्पक्ष निर्वाचनको लागि सबै राजनीतिक दलको सहयोग र सहकार्य आवश्यक रहने भएकोले जिल्लामा रहेका राजनीतिक दलहरु सबैको साथ रहने कुरामा विश्वस्थ छौ ।’
बाँकेका पहरी प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले भौगोलिक, भाषिक र सामजिक सांस्कृतिक आधारमा बाँकेको सुरक्षा रणनीति बनाएको बताए । उनले भने–‘निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर घटना भएको १० मिनेट मै प्रहरी पुग्ने गरी तयारी गरेका छौ ।’ उनले सुचना संकलनको लागि जिल्लाका ८ वटै स्थानीय तहमा सादा पोषाकको प्रहरीहरु समेत परिचालन गरेको जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेस बाँकेकी सभापति किरण कोईरालाले निर्वाचनमा सबैले भयरहित बाताबरणमा भाग लिनसक्ने बाताबरण बनाउनको लागि आफ्नो पार्टीले पनि सहयोग गर्न बताईन ।
एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले पहिलो चरणको मतदानको नतिजा आउदा देखिएका त्रुटीहरुलाई सच्याउदै मतपत्र बदर हुन नदिनको लागि पार्टीले मतदाता साक्षर अभियान र प्रचार एकैपटक सञ्चालन गर्ने बताए ।
माओवादी केन्द्रका आईपी खरेलले प्रचारको बेलामा सबै राजनीतिक पार्टीले संयम हुँदै मर्यादित तरिकाबाट प्रचार अभियान सञ्चालन गर्नु पर्नेमा आफ्नो पार्टीको धारणा रहेको बताए । राजपा नेपालका केन्द्रीय उपाध्यक्ष विजय गुप्ताले आफुहरु आन्दोलन मै रहेको स्पष्ट पार्दै स्थानीय तह पुनः संरचना गरिनु पर्ने र भएको भद्र सहमति अनुसार संविधान संशोधन गरिए दोस्रो चरणको निर्वाचनमा भाग लिने बताए ।
कार्यक्रममा अन्तरधार्मिक सामाजिक सद्भाव समितिका क्षेत्रीय संयोजक बागेश्वरी मन्दीरका मुल महन्त तथा हिन्दू धर्मगुरु चन्द्रनाथ योगीले निर्वाचनलाई निष्पक्ष बनाउनको लागि धर्मगुरुहरुले यो या त्यो पार्टी÷व्यक्तिलाई भोट देउ भनेर भन्नु नहुने कुरामा जोड दिए । सञ्चारकर्मी उम्मीद बागचन्दले सहजिकरण गरेको कार्यक्रममा क्षेत्रीय निर्वाचन अधिकारी बसन्तराज अधिकारी, युएनडिपीका सतीश पाण्डे लगायतले दोस्रोचरणको स्थानीय तहको निर्वाचन भयरहित बनाउन आ–आफ्नो क्षेत्रबाट पहल गरिनु पर्ने सुझाव दिएका थिए ।