
काठमाडौं : सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन ।
सार्वजनिक भएका निर्णयहरुमा नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवद्र्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए ।
बैठकले नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली स्वीकृत गरेको छ । यसैगरी वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
त्यस्तै, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
यसैगरी सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए ।












प्रतिक्रिया दिनुहोस्