२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

बेतहनी पनि भयो खुलादिसा मुक्तसंगै पूर्णखोप युक्त गाविस



सदरलाइनडटकम 
३१ बैशाख, नेपालगन्ज : बाँकेका साविक दुई गाविस र नेपालगन्ज उप–महानगरपालिकाका ९ वटा वडाहरु खुला दिसामुक्त हुन बाँकी रहेका छन् । शनिबार बाँकेको साविक बेतहनी गाविस हालको डुडुवा गाउपालिका–२ खुलादिसा मुक्त घोषणा भएसंगै होलिया र ईन्द्रपुर गाविस संगै उप–महानगरपालिकाका ९ वटा वडा खुलादिसा मुक्त घोषणा हुन बाँकी रहेका हुन ।
जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरी प्याकुरेलले साविक बेतहनी गाविस हालको डुडुवा गाउपालिकाको वडा नं. २ को कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा बेतहनीलाई खुला दिसामुक्त वडाको रुपमा घोषणा गरेका हुन ।
डुडुवा गाउपालिकाका वडा सचिव मानबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्याकुरेलले वडा प्रतिबद्धतापत्र समेत पढेर सुनाएका थिए । १ हजार ६ सय ४६ घरधुरी रहेको डुडुवा–२ बेतहनीलाई सो अवसरमा पूर्ण खोप युक्त गाविस समेत घोषणा गरियो ।
बेतहनीका १२ महिनादेखि २३ महिनासम्मका २ सय १ बालबालिका सबैलाई आधारभूत खोपको मात्रा दिएर पूर्ण खोपयुक्त गाविस समेत घोषणा गरिएको थियो । यो संगै बाँकेका ७ वटा पूर्व गाविस पूर्ण खोपयुक्त गाविसको रुपमा घोषित भएका छन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्का, खानेपानी तथा तथा सरसफाई कार्यालयका डिभिजिनल ईञ्जिनियर राजकुमार चौधरी, डुडुवा गाउपालिकाका कार्यकारी अधिकृत दीपक पौडेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि, प्लान नेपाल, एसएनभी, गेरुवा जागरण, रेडक्रश, स्याक, सु–आहारालगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।     

प्रकाशित मिति : २०७४ वैशाख ३१ गते आइतबार
ताजा समाचार