सदरलाइनडटकम ,
१४ पुस, काठमाडौं : व्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दललाई तीन दिनभित्र सहमति गर्नको लागि अल्टिमेटम दिएकी छिन् । बिहीबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेका क्लबका प्रतिनिधिहरुको ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीमगरले आजको तीन दिनभित्र दलहरुले सहमति जुटाउने विश्वास आफूले लिएको बताईन् ।
उनले भनिन्,‘दलहरु सहमतिको नजिकमा पुग्नुभएको कुरा उहाँहरुले मलाई जानकारी गराउनुभएको छ, त्यसैले उहाँहरुवीच अझै घनिभुत छलफल होस् भनेर नै मैले तीन दिनको समय दिएको छु।’ उनले तीन दिनभित्र पनि दलहरुवीच सहमति हुन नसके प्रक्रियामा अघि बढ्ने पनि बताईन्।
उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित् हुनको लागि पनि आफूले निर्देशन दिएको जानकारी गराईन्। उनले भनिन्,‘मैले उहाँहरुलाई भ्याली बाहिर नजानको लागि पनि निर्देशन दिएको छु, अबको बैठक सदनमै हुन्छ, संसदभित्रै बैठक गर्नको लागि पनि मैले निर्देशन दिएको छु, आशा गरौं यो वीचमा सहमति हुन्छ।’
आउँदो संसद बैठक (पुस १८) अघि नै विषयमा सहमति नभए एउटामात्रै बैठक नराखिने सभामुखले जानकारी दिईन। ’सो समयभित्र उहाँहरुले सहमति गर्नुभएन भने १८ गते एक मात्र होइन, ग्याप राखेर एकै दिन दुई÷तीन वटा बैठक राख्नेछु,’ उनले भनिन, ’प्रमुख दलहरुलाई छलफल गर्नका लागि कार्यव्यवस्था परामर्श समितिमा पनि मैले भनिसकेको छु।’
सहमतिको लागि अहिले दलहरुवीच एक पक्षीय, द्धिपक्षीय र बुहपक्षीय वार्ता तथा सम्वादहरु भैरहेको जानकारी दिँदै उनले भनिन्,‘मैले उहाँहरुसँग धेरैपटक वार्ता तथा छलफल गरेको छु, परिणामस्वरुप हिजोमात्रै पनि उहाँहरुवीच संविधानको प्रावधान अनुसार स्थानीय तहको निर्वाचन गर्नेबारे सहमति भएको कुरा आएको छ, यो अत्यन्तै सुखद खबर हो।’
अब संसदभित्रको बहुमतले जे भन्छ सोही अनुरुप निर्णय लिइने पनि उनले बताईन्। उनले जनताका जनप्रतिनिधिको मतलाई पनि कदर गर्नुपर्नेमा जोड दिईन् । उनले संविधान जारी भएपछि देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बेलामा र संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सदन अवरुद्ध हुनु दुःखद भएको टिप्पणी गरिन् ।
सभामुख घर्तीमगरले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने बाध्यतालाई सबैले गम्भिर रुपमा लिनुपर्ने बताउँदै भनिन्,‘अहिलेपनि सदनमा निर्वाचनसम्बन्धी दुई वटा विद्येयक कार्यसूचिमा छन् ।’
क्लबका सभापति ऋषि धमलाले दलहरु संविधान कार्यान्वयनको गम्भिर बन्नुपर्ने धारणा राख्दै आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नेगरि सहमति, सहकार्य र एकताको आधारमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले संसद जनताको सर्वोच्च थलो भएकोले यसलाई सूचारु गर्नपनि दलहरुवीच सहमति, सम्वाद तथा गहन छलफलको आवश्यक रहेकोले क्लबले शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएर दबाबमूलक कार्यक्रम सुरु गरेको जानकारी दिए ।