Sadarline
२०८३ असोज २५ , आइतबार

युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन



बर्दिया : बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित युवा उद्यमशीलता प्रवर्द्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउने आफ्ना कर्मचारीका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

युवा सशक्तीकरण, रूपान्तरण तथा नवप्रवर्तन परियोजना २ अन्तर्गत सो अभिमुखीकरण र स्थलगत अवलोकन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

अभिमुखीकरणमा प्रभावकारी समन्वय, पारदर्शिता, जवाफदेहिता, उचित अभिलेखीकरण, नियमित अनुगमन, बालबालिका तथा अन्य सहभागीको सुरक्षा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र वातावरणीय दिगोपनका विषयमा छलफल गरिएको थियो । स्वीकृत परियोजना दस्तावेज र संस्थागत मापदण्डअनुसार गुणस्तरीय कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान तथा सीप विकासमा समेत जोड दिइएको थियो ।

अभिमूखिकरण कार्यक्रमको सहजीकरण प्लान इन्टरनेसनल नेपालका प्राविधिक सल्लाहकार प्रतिमा कुँवर र कार्यक्रम विशेषज्ञ दुर्गाकुमारी क्षेत्रीले गरेकी थिईन ।अभिमुखीकरणमा परियोजनाअन्तर्गत व्यावसायिक विकासका लागि सहयोग प्राप्त गरिरहेका युवा उद्यमीहरूले आफ्ना व्यवसायको प्रगति, उपलब्धि, सञ्चालनका क्रममा भोग्नुपरेका चुनौती तथा भविष्यमा व्यवसाय विस्तार गर्ने योजनाबारे प्रस्तुति दिएका थिए ।

सोही क्रममा परियोजनाबाट सहयोग प्राप्त युवा उद्यमहरूको स्थलगत अवलोकनसमेत गरिएको थियो । अवलोकन टोलीले बंगुरपालन, स्थानीय कुखुरापालन, बाख्रापालन, किराना पसल तथा खाजा व्यवसाय सञ्चालन गरिरहेका युवा उद्यमीहरूसँग प्रत्यक्ष भेटघाट गरी व्यवसायको अवस्था, उपलब्धि, चुनौती र विस्तारका सम्भावनाबारे जानकारी लिएको थियो ।

स्थलगत अवलोकनका क्रममा व्यवसायको प्रकृतिअनुसार पशुपालन व्यवस्थापन, पशुको स्वास्थ्य, दाना तथा आहार व्यवस्थापन, रोगको रोकथाम, मौज्दात व्यवस्थापन, ग्राहक सेवा, उत्पादनको गुणस्तर, सरसफाइ, बजार प्रवर्द्धन तथा आर्थिक कारोबारको अभिलेख राख्ने विषयमा छलफल गरिएको थियो ।

अभिमुखीकरण र अवलोकनले कर्मचारीहरूको ज्ञान र संस्थागत मापदण्डसम्बन्धी बुझाइ बढाउनुका साथै परियोजनाको योजना तथा रणनीतिलाई युवा उद्यमीहरूको वास्तविक अनुभव र आवश्यकतासँग जोड्ने अवसर प्रदान गरेको छ ।

यसले परियोजना कार्यान्वयनको गुणस्तर सुधार, संस्थागत जवाफदेहिता, साझेदारी र युवा उद्यमीलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउने प्रतिबद्धतालाई थप बलियो बनाएको आयोजकले जनाएको छ ।

बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सो परियोजनाले युवाको क्षमता विकास, उद्यमशीलता प्रवद्र्धन, जीविकोपार्जनका अवसर विस्तार तथा दिगो र समावेशी भविष्य निर्माणका लागि काम गर्दै आएको छ ।

 कार्यक्रममा क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक परामर्शदाता बिनय दिल लामा, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, वित्त, प्रशासन तथा सञ्चालन व्यवस्थापन प्रतिनिधि बेदप्रसाद पंगाली, सदस्य शंकरसिंह थारु, कार्यक्रम संयोजक राधे चौधरी, परियोजना अधिकृत होमप्रसाद चौधरी तथा कर्मचारीहरु सुनीता चौधरी र सिर्जना चौधरीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतबार
ताजा समाचार