Sadarline
२०८३ असोज २४ , शनिबार

रामलीलालाई यसवर्ष महामोहत्सवको रुपमा सञ्चालन गरिने तयारी



 
नेपालगञ्ज : बडा दशैको अवसरमा नेपालगञ्जमा सञ्चालन हुँदै आएको रामलीलालाई यसवर्ष महामोहत्सवको रुपमा सञ्चालन गरिने भएको छ ।

रामलीला सञ्चालक समिति नेपालगञ्जले पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी दिएको हो । भगवान श्रीरामको आदर्श जीवन, आदर्श शासन र मर्यादा पुरुषोतमको दिव्यचरित्रलाई जनमानसमा अभिनयका माध्यामबाट जीवन्त बनाउदै धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश दिने उद्दश्यले यस वर्ष पनि रामलीला मञ्चनको आयोजन गर्न लागिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार कानोडियाले जनकारी दिए ।

उनले नेपालको पहिचानका रूपमा स्थापित ऐतिहासिक रामलीलाको १५९ औं शृंखलालाई महा महोत्सवको रुपमा घटस्थापनाको दिनदेखि रामलीला सुरु हुने बताए । उनले यसको तयारी स्वरुप मञ्च निर्माण तथा सुरक्षा व्यवस्थामा विशेष जोड दिदै कलाकारलाई बासको व्यवस्था गरि सकिएको, कार्यक्रमस्थल सरसफाई, मञ्च, लाईट व्यवस्थापनको तीब्ररुपले अघिबढेको बताए ।

दश दिनसम्म मञ्चन हुने यस कार्यक्रमको विधिवत शुभारम्भ आइतबार दिउसो २ बजे शोभायात्रासहित गरिने छ भने औपचारिक समुदघाटन राती ८ बजे नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम तय छ ।

हरेक दिन साँझ ४ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन हुनेछ । राम र सीताको जीवनीमा आधारित विभिन्न कथाहरू नाटकीय रूपमा प्रस्तुत गरिनेछन् ।

सो अवधिमा श्रीराम जन्मोत्सव, धनुष यज्ञ,रावण वध, भरत मिलाप, शुभ राज्याभिषेक लगायतका महत्त्वपुर्ण आकर्षण प्रस्तुत हुनेछन् । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमण नेतृत्वको २५ जनाको कलाकार टोली नेपालगञ्ज पुगिसकेको छ । १५८ वर्षदेखि निरन्तर परम्परालाई जोगाउँदै अगाडि बढाइएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज २४ गते शनिबार
ताजा समाचार