
बर्दिया : बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बर्दिया सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बालअधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रगति र उपलब्धिबारे जानकारी लिन राजापुर नगरपालिकाका जनप्रतिनिधि तथा संस्थाको व्यवस्थापन टोलीले दुई विद्यालयमा संयुक्त अनुगमन गरेको छ ।
राजापुर नगरपालिका–१० स्थित जनचेतना माध्यमिक विद्यालय र वडा नं. ८ स्थित भेरी माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो । अनुगमन टोलीमा नगरपालिकाकी उपप्रमुख मनकला कुमारी चौधरी, वडा नं. ५, ८ र १० का वडाध्यक्षहरू, महिला तथा बालबालिका इकाइ प्रमुख अनिता चौधरी, क्लबका कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार साजिद अली सिद्दिकी, परियोजना संयोजक ईश्वर बिक तथा क्षेत्रीय पर्यवेक्षक प्रमिशा थारु सहभागी थिए ।
जनचेतना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै परियोजनाअन्तर्गत सञ्चालन भइरहेका विभिन्न गतिविधिको अवस्था र प्रभावबारे जानकारी लिइएको थियो । छलफलमा ‘स्टिक्स एन्ड स्टोन्स’ सत्र, अभिभावक शिक्षा कार्यक्रम तथा समुदाय–प्रहरी साझेदारी अभियानलगायतका गतिविधिबारे समीक्षा गरिएको थियो ।
यी कार्यक्रमले बाल अधिकार, व्यक्तिगत सुरक्षा, मानव बेचबिखन रोकथाम, सकारात्मक अभिभावकत्व तथा बाल संरक्षणमा समुदायको जिम्मेवारीबारे चेतना अभिवृद्धि गर्न योगदान पुर्याएको सहभागीहरूले बताएका थिए ।
छलफलमा बाल संरक्षणसम्बन्धी विद्यार्थीको चेतनामा आएको सुधार, सुरक्षित सिकाइ वातावरण निर्माण, बालबालिकाको सुरक्षामा शिक्षकको भूमिका तथा विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यका विषयमा समीक्षा गरिएको थियो ।
अनुगमन टोलीले विद्यालयमा बाल संरक्षणसम्बन्धी गतिविधिलाई नियमित रूपमा सञ्चालन गर्न, विद्यालयस्तरमा उजुरी तथा घटनाको जानकारी दिने र आवश्यक निकायमा सिफारिस गर्ने संयन्त्रलाई सुदृढ बनाउन सुझाव दिएको थियो ।
संयुक्त अनुगमनले स्थानीय सरकार, विद्यालय र बाँके युनेस्को क्लबबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै बाल संरक्षणका कार्यक्रमको प्रभावकारिता समीक्षा गर्ने अवसर प्रदान गरेको छ ।












प्रतिक्रिया दिनुहोस्