Sadarline
२०८३ असोज १९ , सोमबार

गुलरियाको शान्ति आधारभूत विद्यालयमा नवनिर्मित शौचालय हस्तान्तरण



बर्दिया (गुलरिया) : बालबालिकाको स्वास्थ्य, सरसफाइ र सुरक्षित सिकाइ वातावरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ गुलरिया नगरपालिका–५, बालापुरस्थित श्रीशान्ति आधारभूत विद्यालयमा नवनिर्मित शौचालय हस्तान्तरण गरिएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को साझेदारीमा सञ्चालित प्रयास–२ परियोजना अन्तर्गत निर्माण गरिएको उक्त शौचालय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जालुराम चौधरीको अध्यक्षतामा सम्पन्न हस्तान्तरण कार्यक्रममा विद्यालयका बालबालिकाका लागि सुरक्षित, स्वच्छ तथा व्यवस्थित शौचालयको आवश्यकता महसुस गरी निर्माण गरिएको संरचना विद्यालयलाई हस्तान्तरण गरिएको जानकारी दिइयो ।

शौचालय निर्माणका लागि ११ लाख ७७ हजार २ सय ५३ रुपैयाँ ३७ पैसा (भ्याटसहित) खर्च भएको जनाइएको छ । नवनिर्मित संरचनाले विद्यालयमा अध्ययनरत बालबालिकाको व्यक्तिगत सरसफाइ, स्वास्थ्य तथा सुरक्षित सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्लान इन्टरनेशनल नेपालका निमित्त क्षेत्रीय प्रबन्धक विनय ज्ञवालीले प्रयास–२ परियोजनामार्फत निर्माण गरिएको शौचालय विद्यालयका बालबालिकाका लागि दैनिक सरसफाइ र स्वच्छतामा उपयोगी हुने बताए । उनले विपद्को समयमा आवश्यकताअनुसार उक्त संरचनालाई आश्रयस्थलका रूपमा समेत प्रयोग गर्न सकिने जानकारी दिए ।

ज्ञवालीले प्लान इन्टरनेशनल नेपालले शिक्षा, बाल संरक्षण, मानवअधिकार, स्वास्थ्य तथा विपद् जोखिम न्यूनीकरण लगायतका क्षेत्रमा बालबालिकाको हितलाई केन्द्रमा राखेर काम गर्दै आएको जानकारी दिए । उनले विद्यालयको आवश्यकता पहिचान गरी आधारभूत पूर्वाधार निर्माणमा सहयोग गर्नुको मुख्य उद्देश्य बालबालिकालाई सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नु रहेको कुरामा जोडदिए ।

उनले आफू पनि शिक्षा क्षेत्रसँग जोडिएको अनुभव स्मरण गर्दै विद्यालयमा बालबालिकाका लागि आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनु सरकार, विद्यालय, समुदाय तथा विकास साझेदार सबैको साझा जिम्मेवारी भएको बताए ।

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका विज्ञ झलक विक, कार्यक्रम अधिकृत सन्नी विश्वकर्मा, बी–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनार, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि लगायत स्थानीय जनप्रतिनिधि, बडघर, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले विद्यालयमा निर्माण गरिएको नवनिर्मित शौचालयले विद्यार्थीको स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा सिकाइ वातावरण सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

विद्यालयका शिक्षक तथा अभिभावकहरूले सुरक्षित र व्यवस्थित शौचालयको सुविधा उपलब्ध हुनु बालबालिकाको विद्यालय उपस्थितिमा समेत सकारात्मक प्रभाव पार्ने बताएका थिए । विशेषगरी बालिकाहरूका लागि सुरक्षित तथा मर्यादित शौचालयको सुविधा अत्यन्त महत्वपूर्ण हुनेमा सहभागीहरूले जोड दिएका थिए ।

त्यसैगरी, निर्माण गरिएको संरचनाको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न विद्यालय तथा समुदायले यसको नियमित सरसफाइ, उचित प्रयोग, मर्मतसम्भार तथा संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

प्रयास–२ परियोजनाअन्तर्गत निर्माण गरिएको यस नवनिर्मित शौचालयले विद्यालयको भौतिक पूर्वाधारमा थप सुधार ल्याउनुका साथै बालबालिकाका लागि स्वच्छ, सुरक्षित र मर्यादित सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

 

प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार
ताजा समाचार