बाँकेमा ३५ हजार जनसंख्या बाढी–डुबानको जोखिममा

सदरलाइन संवाददाता १६ भाद्र २०८३, मंगलवार १८:२४
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा यस वर्षको मनसुनमा ८ हजार ५ सय घरधुरीका करिब ३५ हजार जनसंख्या बाढी तथा डुबानको जोखिममा रहने पूर्वानुमान गरिएको छ।
  • सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र आठवटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्यका काम अघि बढाएका छन्।
  • राप्तीसोनारी, नरैनापुर र डुडुवालाई बढी जोखिमयुक्त क्षेत्रका रूपमा राख्दै उद्धार, राहत तथा नदीको अवस्थाबारे निगरानीको तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेमा यस वर्षको मनसुनमा करिब ३५ हजार मानिस बाढी तथा डुबानको जोखिममा रहने पूर्वानुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले तयार पारेको मनसुन पूर्वतयारी कार्ययोजनाले जिल्लाका ८ हजार ५ सय घरधुरी बाढी तथा डुबानबाट प्रभावित हुनसक्ने देखाएको हो ।

मनसुनको समयमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समिति र बाँकेका आठवटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्यका काम अघि बढाएका छन् । सम्भावित बाढी र डुबानबाट हुने जनधनको क्षति कम गर्न जोखिमयुक्त क्षेत्र पहिचानदेखि आवश्यक उद्धार तथा राहत व्यवस्थापनसम्मका तयारी गरिएको समितिले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले पछिल्ला दिनमा पहाडी जिल्लाहरूमा भइरहेको वर्षाका कारण बाँकेमा समेत सम्भावित जोखिमप्रति सचेत रहन आग्रह गरिएको बताए । उनका अनुसार जोखिमयुक्त क्षेत्रका स्थानीय बासिन्दा, स्थानीय तह तथा सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारीसहित तयारी अवस्थामा रहन भनिएको छ ।

‘पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावना हुन्छ । त्यसैले बाँकेका सम्भावित जोखिम क्षेत्रलाई लक्षित गरी पूर्वतयारीका काम गर्न आग्रह गरिएको छ,’ ज्ञवालीले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बाढी तथा डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार काम गरिरहेको बताए । उहाँका अनुसार विपद् आएपछि उद्धार तथा राहतमा जुट्नुभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्राथमिकता दिइएको छ ।

बाँकेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका बाढी तथा डुबानको दृष्टिले बढी जोखिममा रहेकाले ती क्षेत्रमा विशेष तयारी गरिएको छ । राप्ती नदीमा आउने बाढीबाट प्रभावित हुनसक्ने क्षेत्रलाई लक्षित गरी विभिन्न स्थानमा तटबन्ध निर्माण गरिएकाले विगतको तुलनामा जोखिम केही कम भएको समितिको भनाइ छ ।

तर तटबन्ध निर्माण भएका कारण मात्रै जोखिम पूर्ण रूपमा हटेको अवस्था नरहेकाले नदीको बहाव, वर्षाको अवस्था र सम्भावित डुबान क्षेत्रबारे निरन्तर निगरानी गर्न थालिएको छ । विशेषगरी राप्तीसोनारी, नरैनापुर र डुडुवाका नदी तथा खोला आसपासका बस्तीलाई उच्च सतर्कतामा राखिएको छ ।

विपद् व्यवस्थापन समितिले मनसुनको अवधिमा स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायबीच समन्वयलाई प्राथमिकता दिएको छ । बाढी तथा डुबानको अवस्था सिर्जना भएमा तत्काल उद्धार तथा राहतमा परिचालन हुन सक्ने गरी आवश्यक तयारी गरिएको जनाइएको छ ।

यस वर्ष बाँकेमा ८ हजार ५ सय घरधुरीका ३५ हजार जनसंख्या जोखिममा रहेको पूर्वानुमानले जिल्लामा बाढी तथा डुबानको जोखिम अझै चुनौतीका रूपमा रहेको देखाएको छ । विगतमा बाढी तथा डुबानबाट प्रभावित हुँदै आएका क्षेत्रहरूमा पूर्वाधार निर्माण र पूर्वतयारीका काम भइरहे पनि मनसुनको अवस्था हेरेर निरन्तर सतर्कता आवश्यक रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *